Media Network

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीका स्वकीय सचिव बज्राचार्य, अख्तियार प्रमुख राई र आईजीपी कुवँर तानिए


खबरस्टोरी संवाददाता

१० जेष्ठ २०८०,बुधबार

काठमाडौँ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउँछु भन्दै करोडौं असूली गरिएको प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर , ओलीका स्वकीयसचिव बज्राचार्य, अख्तियार प्रमुख राई पनि तातिएका छन् ।कुँवरको गिरोहका सदस्य केशव दुलाल र सानु भण्डारीसँग सम्पर्क र भेटघाट भएको अनुसन्धानका क्रममा भेटिएका विवरणबाट देखिएको हो । 

घटनाका मुख्य अभियुक्त केशव दुलाल, सचिव टेकनारायण पाण्डे र सानु भण्डारीको बयानले थप व्यक्ति तानिने देखिएको छ। जसमा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई, पूर्वगृहमन्त्री रामबहादुर थापा, उनकी श्रीमती नैतकला र प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य समेत तानिएका छन्।

प्रहरी हिरासतमा रहेका केशव दुलालले सचिव राजेश बज्राचार्यलाई रकम दिएको बयान दिएका छन्। प्रधानमन्त्री ओली भएको समयमा २०७६ असोजमा एक करोड रुपैयाँ दिएको बताएका हुन्। उनले बालुवाटारमा नै पैसा दिएको खुलाएका छन्।

प्रहरीले अनुसन्धानका क्रममा दुलालको मोबाइलबाट तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँग भएको भाइबर च्याटको विवरण फेला पारेको छ । जसमा पाण्डेले कुँवरसँग गिरोहलाई जोडिदिएको खुलेको हो ।

शरणार्थी प्रकरणका अभियुक्त केशव दुलालले १० असार २०७९ मा पाण्डेलाई म्यासेज पठाएका छन्, ‘सर नमस्ते, डीआईजी वसन्त कुँवरसँग कुरा भयो हजुर ?’ त्यसपछि पाण्डेले ‘१२ बजेपछि जानु न’ भन्ने जवाफ फर्काएका छन् ।

‘ओके हजुर’ भनेर सन्देश पठाएको केही समयपछि सचिव पाण्डेले फेरि अर्को म्यासेज पठाएका छन्, ‘पठाउनु, कुरा भएको छ ।’ यही म्यासेजमा ‘वसन्त सरलाई पनि फाइनान्सियल सपोर्ट हुन्छ भन्दा हुन्छ हजुर’ भनेका छन् ।

जवाफमा गृहसचिव पाण्डेले ‘हुन्छ’ भनेका छन् ।

यसको ३ दिनपछि केही खबर नआएको भन्दै दुलालले कुँवरको नम्बर मागेका छन् । त्यसक्रममा अर्का आरोपी सानु भण्डारीलाई फोन गर्न लगाउने भनेका छन् ।

त्यसपछि वसन्त सा’बलाई सानु भण्डारीले भेट्ने भन्दै उनले सन्देश पठाएका छन् । १३ असारमा दुलालले सानु भण्डारीले हालका आईजीपी कुँवरलाई भेटेको बताएका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख छँदा यो प्रकरणमा शक्तिशाली जोडिएपछि कुँवरले अनुसन्धानको फाइल नै घरमा लगेका थिए । फाइल फिर्ता लिन जाँदा एक जना एसपीसँग भनाभन भयो । भोलिपल्ट फाइल छुटेको भन्दै खबर आएपछि अपराध अनुसन्धान कार्यालयका एक इन्स्पेक्टर फाइल लिन कुँवरको घर पुगेका थिए ।

‘आईजीपी सा’ब (त्यसबेला धिरजप्रताप सिंह आईजीपी थिए) सा’बले वसन्त सा’बलाई सन्देश शर्मालाई पक्राउ नगरी इन्द्रजितलाई केही नगर्नु भन्नु भएको छ रे’, दुलालले भनेका छन् ।

त्यसबेला अनुसन्धानका क्रममा पक्राउ पूर्जी जारी भएका विषयहरु पनि गिरोहका सदस्यसम्म पुग्ने गरेको म्यासेज विवरणबाट देखिन्छ ।

हाल प्रहरी महानिरीक्षक रहेका कुँवर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) का रुपमा उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको प्रमुख छँदा १८ जेठ २०७९ मा यो प्रकरणबारे पहिलो पटक उजुरी परेको थियो ।

गृह मन्त्रालयका उच्च अधिकारीहरुसँग सम्पर्क रहेको व्यहोरासहित जाहेरी परेपछि प्रहरीले अनुसन्धानका लागि ललितपुरका सानु भण्डारी र पाँचथरका टंक गुरुङलाई नियन्त्रणमा लिएको थियो ।

त्यही दिन जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पूर्जी लिएर पक्राउ गरिएका उनीहरुलाई तत्कालीन कार्यालय प्रमुख कुँवरले केही घन्टामै गृह मन्त्रालयको दबाबमा छाडेको खुलेको छ । उनीहरुलाई छाडेर कार्यालयको अभिलेखबाट समेत सबै विवरण मेटाएको भेटिएको छ ।

उनीहरु पक्राउ परेर नियन्त्रणमा रहे त्यसबाट गृह मन्त्रालयसम्मको नेक्सस खुल्ने भएपछि कुँवरमार्फत उनीहरुलाई छाड्न दबाब दिइएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईपनि तानिए

नक्कली शरणार्थी प्रकरणका प्रमुख योजनाकार भनी मुछिएका सानु भण्डारी र केशव दुलालले प्रहरीसमक्ष दिएको बयान र प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदनमा राईको नाम उल्लेख छ ।

अनुसन्धानका क्रममा अन्य सरकारी कर्मचारी र शीर्ष नेता पनि पर्न सक्ने राईको आशंका छ। राई केही समय अघि सम्म गृहसचिव थिए।

२०७६ साल जेठमा गृह मन्त्रालयले भुटानी शरणार्थीको समस्या समाधानका लागि पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन गरेको थियो। उक्त कार्यदल बन्दा राई गृह सचिव थिए। उनी २०७४ चैत २६ देखि ७६ माघ २० सम्म गृह सचिव बनेका हुन्।

भुटानी शरणार्थीको समस्या समाधानका लागि कार्यदल गठन हुनुभन्दा अघि नै एजेन्टहरूले भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा उठाउन थालिसकेका थिए।

सोही प्रकरण संलग्नता भएको आरोपमा तत्कालीन उर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पनि बुधबार नै पक्राउ पुर्जी जारी भएको छ।

‘तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार डा. इन्द्रजित राईलाई बुझाएको रकम इन्द्रजीतले तत्कालीन गृह सचिव प्रेम राईको गाडीमा राख्न भनेको र आफूले राखिदिएको बयान सरकारी वकिलको रोहवरमा भएको बयानमा पोलेका छन्,’ प्रहरी स्रोत भन्छ ।

इन्द्रजीतले सो रकम गृहसचिव राईको गाडी चिनाएर राख्न आदेश दिएको र त्यसपछि सचिव राईलाई भेट्न गएको भण्डारीले बयानमा भनेका हुन् ।

सोही प्रकरणमा प्रक्राउ परेका दुलालले समेत बयानका क्रममा तत्कालीन गृहसचिव राईको नाम लिएका छन् । दुलालले भण्डारीसहित आफू गाडीमा पैसा राखेपछि तत्कालीन गृहसचिव राईको कार्यकक्षमा गएको बयानमा भनेको स्रोत बताउँछ ।

प्रहरीले नक्कली शरणार्थी प्रकरणमा जोडिएका अन्य १६ जनाको अझै खोजी गरिरहेको छ । प्रहरीको फरार सूचीमा प्रतीक थापा, केशव तुलाधर, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, अशोक पोखरेल, धीरेन राई, निरज राई, दीपा हुमागाई छन् । यस्तै, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता लिम्बू, निरञ्जनकुमार खरेल र सुनिल बुढाथोकी पनि नक्कली शरणार्थी प्रकरणमा जोडिएर फरार रहेको प्रहरीले भनेको छ । यस्तै, वतन नखुलेका गोकुल थापा र रमा थापा पनि प्रहरीको फरार सूचीमा छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद