Media Network

एक्लै जित्दै आएका सशांकले गठबन्धनबाट जित्लान् ?


खबरस्टोरी संवाददाता

२८ कार्तिक २०७९,सोमबार

कावासोती । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. सशांक कोइराला नवलपरासीपूर्व क्षेत्र नम्बर १ बाट चौंथो पटक चुनावी प्रतिष्पर्धामा छन् । यसअघि तीन पटक यही क्षेत्रबाट जितेका कोइरालालाई यो पटक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाकोसमेत साथ रहेको छ । 

यसअघि ३ करोड खर्च गरेर चुनाव जितेको आफैले सार्वजनिक अभिब्यक्ति दिएका कोइराला यो पटक ६ करोड बढी खर्च गर्न तयार भएर यहि क्षेत्रबाट टिकट फुत्काए । उनी आफैले ‘यो पटक ६ करोड भन्दा बढी खर्च हुन्छ, कोही तयार छ ? छ भने आउनुस्, म लड्दिन’ – उम्मेदवार मनोनयन दर्ता नहुँदै कोइरालाले कांग्रेसकै पार्टी कार्यक्रममा उद्घोष गरेका थिए । यो क्षेत्रबाट कांग्रेसका दर्जनौं पुराना कार्यकर्ताहरुले टिकट पाउनुपर्ने बताउँदै आएका थिए । यो क्षेत्रबाट सधैं सशांकलाई जिताए पनि यहाँको विकासमा काम नगरेको भन्दै कांग्रेस कार्यकर्ता नै रुष्ट छन् । त्यसैले यो पटक अन्तिमसम्म पनि शंकर तिवारीले दाबी गरे । तिवारीले टिकट फुत्काउन सकेनन् । 

नेपाली कांग्रेसभित्रै चर्को असन्तुष्टी

कांग्रेसबाट यसअघि समानुपातिक उम्मेदवार भएका उद्योगपति विनोद चौधरीले यसपाली समानुपातिकमा कांग्रेसको विधानअनुसार नै टिकट नमिल्ने नभएपछि प्रत्यक्ष लड्ने घोषणा गरे, यहि क्षेत्रबाट । तर चौधरीलाई पनि यो क्षेत्र मिलेन । त्यसपछि २ नम्बर क्षेत्रका लागि चौधरीले निकै प्रयत्न गरे । तर २ नम्बर क्षेत्रबाट ७४ सालमा हारेका विष्णु कार्की बाधक बनेपछि चौधरी पश्चिम नवलपरासी पुगे । 

२ वटा क्षेत्र रहेको नवलपरासीपूर्वमा सशांक उम्मेदवार रहेको १ नम्बर क्षेत्र नै बढी चर्चामा छ । गठबन्धनबाट उम्मेदवार भएका कोइराला यतिबेला माओवादी केन्द्र र एसका कार्यकर्ता अघिपछि राखेर चुनावी दौडाहामा छन् । अधिकांश समय नवलपुरको पहाडी क्षेत्रमा रहेका कोइरालाको चुनावी प्रचारमा उनका निकट कार्यकर्ताबाहेका कांग्रेसका क्रियाशील सदस्यहरु नै देखिदैनन् । कोइरालाले गठबन्धनबाट जित्ने आशा लिए पनि यो क्षेत्रमा माओवादी र समाजवादीको मत न्युन छ । बढी मत भएको कांग्रेस नै कोइरालाप्रति रुष्ट छन् । 

काम नगर्ने तर सधैं चुनावमा आउने प्रवृत्ति विरुद्ध अन्य स्वतन्त्र उम्मेदवारहरु पनि कोइरालाविरुद्ध लागिरहेका छन् । पछिल्लो समय खासगरी एमालेका कृष्ण पौडेल र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम कोइरालाको मुख्य प्रतिष्पर्धामा देखिएका छन् ।  

हरेक पटक बाहिरका मान्छेलाई ल्याएर उठाएपछि कांग्रेसका स्थानीय नेता कार्यकर्ता रुष्ट छन् । त्यसैले यसको प्रत्यक्ष असर कोइरालामा देखिने सम्भावना रहेको कांग्रेसका एक स्थानीय नेताले बताए । यो पटक स्थानीय स्वतन्त्र युवाहरुलाई मत दिने सोंच रहेको पनि उनले सुनाए । त्यसैले विगतको मतको जोडघटाउबाट सशांकले सहज जित निकाल्ने अनुमान गरिए पनि गठबन्धनको साथ पाएर माओवादी र समाजवादीेले सघाए पनि कांग्रेस कार्यकर्ताबाटै भोट नआएमा कोइरालाको ६ करोड लगानी बालुवामा पानी हुनेछ ।  

अघिल्लो निर्वाचनको गणित 

२०७४ सालको निर्वाचनमा कोइराला ४० हजार ६ सय २० मत प्राप्त गरी विजयी हुँदा बाम गठबन्धनबाट माओवादी केन्द्रका भविश्वर पराजुलीले ३६ हजार ५ सय ९६ मत प्राप्त गरेका थिए । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणामबाट पनि स्थिति फरक छ । यसअघि कांग्रेसले जितेको नवलपुर १ नम्बर क्षेत्रमै  पर्ने देवचुली नगरपालिकामा यो पटक कांग्रेस, माओवादीसहितको गठबन्धनलाई एमालेले हराएको छ । स्थानीय तहमा एमालेका हरि न्यौपानेले १२ हजार ८ सय ६ मतले विजयी हुँदा गठबन्धनका अशोक बस्ताकोटी १२ हजार २ सय १० मत पाएर पराजित भए । 

७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेको बौदिकाली र बुलिङटार गाउँपालिका वैशाखको स्थानीय तह निर्वाचनमा गठबन्धनको साथ पाएर पनि कांग्रेस पराजित भयो । बुलिङटारमा एमालेका दीपेन्द्र सुनारी ४ हजार ५९ मतले विजयी हुँदा पूर्वगाउँपालिका अध्यक्ष कांग्रेसका शशिकिरण बस्ताकोटी ३९ सय मत पाएर पराजित भए । 

यस्तै, कांग्रेसकै रजगज रहेको बौदिकाली गाउँपालिकामा एमालेका प्रकाश ओझा ३ हजार ९ सय ७६ मतले विजयी हुँदा कांग्रेसका पत्रकारसमेत रहेका केबी राना ३ हजार ५ सय ४१ मत प्राप्त गरी पराजित भए । 

यसअघि एमालेले जितेको गैडाकोट नगरपालिकामा भने वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट कांग्रेसका मदनभक्त अधिकारी १६ हजार ४ सय ५५ मतले विजयी हुँदा एमालेका छत्रराज पौडेलले १३ हजार ६ सय ६ मत प्राप्त गरे । पौडेल नै यघि गैंडाकोट मेयरमा निर्वाचित भएका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद