Media Network

सपनाको गाउँ बन्दीपुरः अपुरो रह्यो ग्रेटवाल


नारायण पंगेनी

१६ चैत्र २०७८,बुधबार

बन्दिपुर (तनहुँ) । तनहुँको पर्यटकीय महत्व बोकेको सुन्दर गाउँपालिका बन्दीपुरलाई संसारभर चिनाउने सपना बोकेका अध्यक्ष पूर्ण सिंह थापाको कार्यकाल सकिनै लागेको छ । 

पर्यटकीय रुपमा नै विकास गर्ने लक्ष्यसहित २० वर्षे गुरुयोजना तयार पारेर अघि बढेको बन्दीपुर विकासको गतिमा अघि बढ्दै छ । 

मिनी ग्रेटवाल, केबलकार, साइकल लेन, रक क्लाइमिङ, जीपलाइनदेखि शीशाको भ्यूसमेत बनाउने योजना बन्यो । गाउँपालिका अध्यक्ष सिंहले पर्यटनलाई मात्र होइन, पालिकामा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारको क्षेत्रमा पनि काम गरे । कार्यकाल सकिन केही समय मात्रै बाँकी हुँदा पनि थापाको ब्यस्तता उस्तै छ । 

चार किलोमिटर लामो ‘मिनी ग्रेटवाल’

गाउँपालिकाले बन्दीपुरमा पर्यटन प्रवद्र्धनकै लागि चार किलोमिटर लामो बन्दीपुर ग्रेटवाल निर्माण कार्य अघि बढाएको छ । चार किलोमिटरको बन्दीपुर मिनी ग्रेटवाल निर्माणको योजना मध्ये अहिलेसम्म १४ सय मिटरको काम सम्पन्न भइसकेको छ । गाउँपालिका अध्यक्ष थापाकाअनुसार १९ करोड लागतमा निर्माण गर्न लागिएको मिनी ग्रेटवालको १ करोडको काम भइसकेको छ । हालै ५ करोडको टेण्डर परेको थापाले बताए । 

बन्दीपुर मिनी ग्रेटवाल नाम दिइएको मणिमुकुन्देश्वरी पर्खाल निर्माणको काम जारी राखिएको छ । यो आधुनिक पदमार्ग बन्दीपुर बजारबाट शुरु भई थानीमाई, समिभञ्ज्याङ् हुँदै मुकुन्देश्वरी गढी जोड्ने योजना छ । 

सय गन्तब्य मध्ये एक कार्यक्रम तथा गाउँपालिकाबाट निकासा भएको गरी अहिलेसम्म १ करोडको काम भइसकेको गाउँपालिका अध्यक्ष थापाले बताए । 

‘थानीमाई मुकुन्देश्वरी पर्यटकीय पदमार्ग’ नामाकरण गरी थालिएको पदमार्गको चौडाई चार मिटर र पर्खालको उचाई २ फिट रहने अध्यक्ष थापाले बताए ।

गण्डकी प्रदेशस्थित तनहुँ जिल्लामा अवस्थित पर्यटकीय महत्व बोकेको बन्दिपुर गाउँपालिका १०२ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको सानो तर विविधताले सजिएको सुन्दर गाउँपालिका हो । 

आ.व. २०७०/७१ (२०७१ बैशाख २५ गते) मा साविक धरमपानी र बन्दिपुर गाउँ विकास समितिहरुलाई समेटेर बन्दिपुर नगरपालिका घोषणा गरिएको थियो ।  गाउँपालिकाले बन्दीपुर ग्रेटवालजस्तै अन्य थुप्रै महत्वाकांक्षी योजनाहरु अघि सारेको छ । 


कृषिमा आधुनिकीकरण, तरकारीमा आत्मनिर्भर

कृषि क्षेत्रमा पनि पालिकाले महत्पूर्ण कामहरु गरेको गाउँपालिका अध्यक्ष थापाले बताए । चक्लाबन्दी कार्यक्रमदेखि कृषि क्षेत्रलाई आधुनिकीकरणमा ढाल्ने काम पनि पछिल्लो दुई वर्षमा भएका छन् । 

बन्दीपुर गाउँपालिकामा फलफूल जोन, बाख्रा पकेट क्षेत्र, दूध पकेट क्षेत्र हुँदै तरकारी पकेट क्षेत्र विस्तार भएको छ । बन्दीपुर अहिले तरकारमा आत्मनिर्भर भइसकेको थापाले दाबी गरे । कृषि क्षेत्रमा युवा आकर्षण बढाउन युवाहरुलाई कृषि तालिमहरु प्रदान गरिएका छन् । गएको आर्थिक वर्षदेखि पालिकाले दुग्ध किसानहरुलाई प्रोत्साहित गर्न भन्दै दूधमा प्रतिलिटर एक रुपैयाँ अनुदानसमेत दिइएको थापाले बताए ।  

यो ठाउँ पहिले मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडको तनहुँ, कास्की, लमजुङ, गोरखा र मनाङका लागि दक्षिणबाट सामान ल्याउने मुख्य नाकाको रुपमा रहेको थियो ।

बन्दीपुर तनहुँ जिल्लाको पुरानो सदरमुकाम थियो । वि.सं. २०२५ सालमा सदरमुकाम बन्दीपुरबाट दमौली सारिए पनि बन्दीपुरले भने पछाडी फर्किनु परेको छैन । 

मुख्यतः पर्यटकीय रुपमा बन्दीपुरलाई संसार चिनाउने सपना देखेका थापाको कार्यकाल सकिएपछि नयाँ आउने जनप्रतिनिधिहरुले २० वर्षे गुरुयोजनालाई कसरी अघि बढाउने हुन्, त्यो भने हेर्न बाँकी नै छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद