Media Network

तीन महिनापछि ताप्लेजुङ–काठमाडौं उडान सुचारु


खबरस्टोरी संवाददाता

१८ भाद्र २०८०,सोमबार

ताप्लेजुङ । नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौँ सुकेटार उडान सुरु गरेको छ ।खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौं सुकेटार उडान हुन सकेको थिएन । मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिए।

लामो समयपछि भएको उडानमार्फत काठमाडौँबाट ६ यात्री ताप्लेजुङ आएका छन् भने एक जना यात्री काठमाडौं गएका छन् । पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान हुने उनले बताएका छन् । करिब एक हजार आठ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ ।

यसअघिको तुलनामा उडानको भाडा दरसमेत घटाइएको छ । काठमाडौं ताप्लेजुङको भाडा यसअघि ९ हजार ६ सय ५३ थियो भने हाल घटाएर ८ हजार ६ सय रूपैयाँ कायम गरिएको छ । यस्तै ताप्लेजुङ काठमाडौँको भाडा यसअघि ९ हजार ४ सय ५३ रूपैयाँ भएकोमा यसलाई घटाएर ८ हजार चार सय रूपैयाँमा झारिएको छ ।

मौसममा क्रमशः सुधार आएको र चाडबाड नजिकिएकाले नियमित रुपमा उडान हुने विमानस्थलको विश्वास छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद