Media Network

‘संघीय शिक्षा नियमावली’ जारी गर्न अभिभावक संघको माग


खबरस्टोरी संवाददाता

२ जेष्ठ २०८०,मंगलवार

पोखरा। नेपाल राष्ट्रिय अभिभावक संघले संघीय शिक्षा नियमावली जारी गरी शिक्षा क्षेत्रको अन्योलतालाई अन्त्य गर्न सरकारसँग माग गरेको छ । 

संघको गण्डकी प्रदेशको हालै सम्पन्न प्रथम प्रदेश सम्मेलनले ९ बुँदे घोषणापत्र जारी गर्दै संघीय शिक्षा ऐन जारी गर्न माग गरेको हो । मुलुकले संघीय शासन प्रणालीको अभ्यास गरेको पहिलो कार्यकाल पूरा गरी दोस्रो कार्यकाल शुरु भइसक्दा पनि संघीय शिक्षा ऐन जारी नभएको भन्दै शिक्षक अभिभावक लगायतका विभिन्न संघ संस्थाहरु आन्दोलित छन् । 

पोखरा घोषणापत्रमा देशभरीका सामुदायिक तथा संस्थागत विद्यालयहरुका ब्यवस्थापन समितिमा वास्तविक अभिभावकको प्रतिनिधित्व गर्न सरकार र सम्बन्धित स्थानीय निकायहरुसँग माग गरिएको छ । 

संस्थागत विद्यालयहरुमा आफूखुशी विभिन्न शीर्षकमा शुल्क लिन बन्द गर्न तथा शिक्षा ऐनअनुसार घोषित १० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने गराउने विषयमा पनि अभिावक संघले स्थानीय, प्रदेश तथा सरकारसँग माग गरेको छ । 

भट्टको नेतृत्वमा प्रदेश समित गठन 

नेपाल राष्ट्रिय अभिभावक संघको शनिबार पोखरामा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले कलाधर भट्टको अध्यक्षतामा १९ सदस्य गण्डकी प्रदेश समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा प्रेमनारायण न्यौपाने र बुद्धिशोभा तामाङ, सचिव राजुराज अधिकारी, सहसचिव नारायणप्रसाद तिमिल्सिना, कोषाध्यक्ष भीमलाल तिवारी र सहकोषाध्यक्ष पतिराम थनेत निर्वाचित भएको संघका उपाध्यक्ष एवम् गण्डकी प्रदेश इन्चार्ज श्याम शर्मा भुसालले जानकारी दिए ।  

गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडाले उद्घाटन गरेको सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष कोषबहादुर जिसी, पूर्व सांसद शंकर पाण्डे, अभिभावक संघका बरिष्ठ उपाध्यक्ष सुन्दरबाबु श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद