Media Network

विश्वविद्यालयमा देखा परेका बाधा–अड्चन सरकारले हटाउछ : प्रधानमन्त्री


खबरस्टोरी संवाददाता

१० मंसिर २०८०,आईतवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयले अघि सारेको नीति तथा कार्यक्रमको कार्यान्वयनमा देखा परेका बाधा–अड्चन सरकारले हटाउने बताएका छन्। 

पूर्वाञ्चल विश्वविद्यालय सभाको ३७ औं सभा–बैठकलाई सम्बोधन गर्दै विश्वविद्यालयले अघि सारेको नीति तथा कार्यक्रमको कार्यान्वयनमा देखा परेका बाधा–अड्चन, नीतिगत तथा कानूनी समस्याहरूको समाधान र ऐनको समयाकूल परिमार्जन र संशोधनका लागि समेत सरकारबाट यथोचित सहयोग रहने बताएका हुन्।

देशमा क्रियाशील सबै विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले बदलिँदो परिवेशअनुरूप अध्ययन, अध्यापन र अनुसन्धानको दायरालाई व्यापक बनाई पृथ्वी र मानव जातिमाथि आइपर्न सक्ने तमाम् चुनौती र समस्याहरूको समाधानका लागि सोच्नुपर्ने बताए ।

उनले भने, प्रविधिको तीव्र विकास र विस्तारले दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सम्भव हुन्छ । तसर्थ, सैद्धान्तिक ज्ञान दिनेमात्र नभई विद्यार्थीहरूलाई नवप्रवर्तन, जीवनोपयोगी र व्यवहारिक ज्ञान र सीप सिकाएर आत्मनिर्भर, व्यवसायिक र उद्यमशील बनाउने, नयाँ–नयाँ कुराको खोज, अनुसन्धान र आविष्कार गर्नसक्ने, मुलुकको विकास र समृद्धिका लागि नेतृत्वदायी भूमिका खेल्न सक्ने सिर्जनशील जनशक्ति उत्पादनमा विश्वविद्यालयहरू केन्द्रित हुनुपर्दछ ।

उच्चशिक्षामा विकासको गतिलाई व्यापक बनाउँदै प्राकृतिक सम्पदा तथा परम्परागत ज्ञान–सीपको संरक्षण र उपयोग, पर्यटन प्रवर्द्धन र कृषि क्षेत्रमा यान्त्रिकरणको प्रयोगमार्फत् देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयले केन्द्रित हुनुपर्ने बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद