Media Network

नेप्से ४.२६ अंकले बढ्यो


खबरस्टोरी संवाददाता

१ आश्विन २०८०,सोमबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) नेपालको शेयर बजारमा झिनो वृद्धि देखिएको छ । आइतबार ४२.१४ अंकको पहिरो चलेको नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) सूचक आज ४.२६ अंकले बढेर १९६९.१८ बिन्दुमा पुगेको हो । आज २८ लाख ७४ हजार २७५ कित्ता शेयर कारोबार भएको छ ।

कारोबार रकम भने आइतबारको तुलनामा सोमबार ह्वात्तै घटेको छ । आइतबार दुई अर्ब २ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ८४ करोड ४ लाख रुपैयाँमा सीमित भएको छ । हरितालिका तीजका दिन अधिकांश महिलाहरू कारोबारमा संलग्न नहुँदा र पुरुषहरू पनि फेस्टीभ मुडमा हुँदा कारोबार रकम घटेको हो । 

नेप्सेका अनुसार सोमबार कारोबार भएका १४९ कम्पनीको शेयरमूल्य बढेको छ भने ६२ कम्पनीको शेयरमूल्य घटेको छ । १५ कम्पनीको शेयरमूल्य स्थिर छ ।

आज प्रतिशतका हिसाबले सबैभन्दा बढी इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्य बढेको छ । सो कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढ्दै प्रतिकित्ता एक हजार ५४ रुपैयाँ ४० पैसा पुगेको छ ।

शुभम पावर लिमिटेडका शेयरधनीहरूले भने प्रतिशतका हिसाबले आज शेयरबजारमा सबैभन्दा बढी गुमाएका छन्‌ । ९.९९ प्रतिशतले गिरावट हुँदा यो कम्पनीको प्रतिकित्ता शेयरमूल्य ८८७ रुपैयाँ १० पैसा कायम भएको छ । यो कम्पनीका शेयरधनीहरूले एकैदिन प्रतिकित्ता ९८ रुपैयाँ ५० पैसा गुमाएका छन्‌ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद