Media Network

प्रतिबन्धित औषधि सेवन गरेको पुष्टि भएपछि प्रतिबन्धमा परिन् सिमोना


खबरस्टोरी संवाददाता

२७ भाद्र २०८०,बुधबार

काठमाडौँ । विश्व टेनिसकी चर्चित खेलाडी सिमोना हालेप प्रतिबन्धित औषधि सेवन गरेको आरोपमा प्रतिबन्धमा परेकी छन् । पछिल्लो समय विश्व खेलकुदमा प्रतिबन्धित औषधि सेवन गर्ने एकपछि अर्को घटना सार्वजनिक हुँदै छन् ।

यसअघि मंगलबारमात्र इटालियन सिरिए क्लब युभेन्ट्सका प्रभावशाली फुटबलर पल पोग्बा प्रतिबन्धित औषधि सेवन गरेको आरोपमा निलम्बनमा परेका थिए । रोमानियाकी ३१ बर्सिया खेलाडी हालेप दुईपटककी ग्रान्डस्लाम च्याम्पियन खेलाडी हुन् । 

हालेपले विश्व टेनिसकै चर्चित प्रतियोगिता विम्बल्डन र फ्रेन्च ओपनको उपाधि जितेकी छन् । उनले सन् २०१८ मा फ्रेन्च ओपन र सन् २०१९ मा विम्बल्डनको उपाधि चुमेकी थिइन् । हालेपमाथि चार वर्षको प्रतिबन्ध लगाइएको समाचारमा जनाइएको छ । 

हालेपले जानेरै प्रतिबन्धित औषधि प्रयोग गरेको बताइएको छ । हालेपले भने आफूले जानेर प्रतिबन्धित औषधि सेवन नगरेको दाबी गरेकी छन् । उनले आफूमाथि लगाइएको प्रतिबन्धको विरुद्धमा पुनरावेदन गर्ने पनि बताएकी छन् । 

हालेपले आफूले कानुन व्यवसायीसँग सम्पर्क गरिरहेको र छिट्टै नै कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टमा पुनरावेदन गर्ने जानकारी दिइन् । ‘ममाथि अन्याय भएको छ । मैले जानेर कहिले पनि प्रतिबन्धित औषधि सेवन गरेको छैन । यो निर्णयको विरुद्धमा म पुनरावेदनमा जानेछु,’ उनले भनेकी छन् । 

गत वर्ष सम्पन्न ग्रान्डस्लाम प्रतियोगिता यूएस ओपनका क्रममा उनले प्रतिबन्धित औषधि सेवन गरे—नगरेको परीक्षण गरिएको थियो । त्यसमा उनी असफल भएकी थिइन् । त्यसपछि दोस्रो परीक्षणमा पनि उनी असफल भएकी थिइन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद