Media Network

‘देउवा-आरजु गिरोहको अपमान सहेर बस्न सक्दिन'भन्दै डा.वाग्लेले गरे पार्टी परित्याग


खबरस्टोरी संवाददाता

१६ चैत्र २०७९,बिहीबार

काठमाडौं । नेपाली कांग्रेसमा आवद्ध अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले सभापति शेरबहादुर देउवाप्रति तीव्र असन्तुष्ट प्रकट गर्दै पार्टी परित्याग गरेका छन् । उनले कांग्रेसका केही नेताहरूलाई सन्देश पठाएर आफू पार्टीमा रहन नसक्ने अवस्था आएको बताएका हुन् ।

वाग्लेले भनेका छन्, ‘हजुरहरूको अपार सद्भावका बाबजूद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।’

वाग्लेले अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’ को प्रयोगमा जान चाहेको उल्लेख गरेका छन् ।

‘यो निर्णय लिनुअघि हजुरहरूसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौं,’ उनको भनाई छ ।

‘कांग्रेस पार्टीमा हजुरहरूको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रूपमा जोडिन सक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौं, त्यहींबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु,’ वाग्लेले भनेका छन् ।

कांग्रेस छोडेर वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न लागेको अनुमान छ । उनी तनहुँ १ बाट उपचुनावमा उठ्ने पनि चर्चा छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद