Media Network

एनआरएनए यूरोपेली सम्मेलन : ३५ देशका प्रतिनिधि सहभागी हुने, परराष्ट्रमन्त्री साउद समापनमा पुग्ने


खबरस्टोरी संवाददाता

२२ बैशाख २०८०,शुक्रबार

काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औं युरोपेली सम्मेलन शुक्रवारदेखि चेक रिपब्लिकको राजधानी प्रागमा सुरु हुँदैछ । मे ५, ६ र ७ तारिख तीन दिनमा जारी रहने सो सम्मेलनको उद्घाटन संविधान सभाका पूर्वअध्यक्ष सुवास नेम्वाङले गर्ने तयारी छ । अमेरिका, क्यानाडा, मध्यपूर्व, जापान, मलेसिया र नेपाललगायत विश्वका ३५ भन्दा बढी मुलुकका तीन सय बढी प्रतिनिधिको सहभागिता रहने सम्मेलनको समापन समारोहमा नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउद सहभागी हुने कार्यक्रम छ । सम्मेलनको व्यवस्थापनको जिम्मा गैरआवासीय नेपाली संघ चेक रिपब्लिकले लिएको छ । सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नको लागि क्षेत्रीय संयोजकद्वय सन्तोष भट्टराई र चिन्तामणी सापकोटाको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।सम्मेलनको सञ्चार संयोजन संघका सञ्चार संयोजक चिरन शर्माले गर्नेछन् । 

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीका अनुसार सम्मेलनमा संघका नियमित एजेण्डा लगायत नेपालमा १० अर्बको लगानी, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपालीलाई मताधिकार, सामाजिक सुरक्षा कोष लगायतका विषयमा घनिभूत छलफल हुनेछ । यस्तै सम्मेलनमा संघको विधान, आन्तरिक एकता, सदस्यता वितरण र आगामी १५ औं विश्व सम्मेलन लगायतका विषयमा समेत छलफल हुनेछ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले नेपालमा जति पुँजीको लगानी छ त्यति नै सिप, ज्ञान र प्रविधिको लगानीको महत्व भएको भन्दै क्षेत्रीय सम्मेलनमा नेपालीमा बौद्धिक लगानीको सम्भावना र चुनौतीका बारेमा समेत छलफल गरिने बताए ।

सम्मेलनमा नेपाली कांग्रेसका सचेतक रमेश लेखक, नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङ, नेपाल स्वतन्त्र पार्टीका सांसद मनिष झा सहभागी हुने छन् । यस्तै गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारीहरु नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ, पत्रकारहरू, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय कमिटीका केन्द्रिय अध्यक्षहरु, पूर्वअध्यक्षहरु, पत्रकारहरु र संस्थापकहरुको उपस्थिति रहनेछ । सम्मेलनमा भाग लिन बिहीबार नै विभिन्न देशका गैरआवासीय नेपाली पदाधिकारी एवं अतिथिगढ पुगिसकेका छन् ।

यस्तो छ तीन दिनको मुख्य कार्यक्रम

गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिम्खडाका अनुसार शुक्रवार दिउँसोदेखि संघको औपचारिक कार्यक्रम सुरु हुनेछ । पहिलो दिन, शुक्रवार विहानैदेखि प्रतिनिधिहरुको दर्ता प्रारम्भ हुनेछ । दिउँसो २ बजेदेखिबाट संस्थागत गतिविधिहरु हुनेछन् । २ बजेदेखि साँझ ५ बजेसम्म स्मार्ट एनआरएनए, सदस्यता वितरण, निर्वाचन प्रकृया, एनआरएनए विधान र राष्ट्रिय समितिबीचको सञ्जालको बारेमा छलफल हुनेछ भने साँझ ५ बजेदेखि उद्घाटन शत्र शुरु हुनेछ । 

सम्मेलनको दोस्रो दिन, शनिवार राष्ट्रिय समितिको प्रतिवेदन, युवा र महिला सम्मेलन, मिलाप (एकता) एनआरएनए मेघा प्रोजेक्ट, नेपाल प्रमोशन लगायतका कार्यक्रम तय गरिएको छ ।यस्तै सम्मेलनको तेस्रो दिन, आइतवार नेपालमा १० अर्व लगानी, नेपाली नागरिकताको निरन्तरता, भोटिङ राइट, सामाजिक सुरक्षा कोष, सीप, ज्ञान तथा प्रविधि ट्रान्फर लगायतका विषयमा छलफल हुनेछ । सम्मेलनको अन्त्यमा पराग घोषणपत्र जारी गरिनेछ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद