Media Network

चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा


खबरस्टोरी संवाददाता

१७ भाद्र २०८०,आईतवार

जुम्ला । निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाकै गौरवको आयोजनाका रूपमा जुम्लाको पातारासी गाउँपालिका–१ गडिगाउँमा रहेको आयोजना आगामी दसैँसम्म सम्पन्न हुने गरी तीव्र काम भइरहेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिईन् । 

चुकेनी आयोजनाको प्रगतिबारे जानकारी लिन कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीसहितको टोली शुक्रबार आयोजनास्थलमा पुगेर अनुगमनसमेत गरेको छ । सो टोलीलाई निर्माणको जिम्मेवारी पाएको फेवा कन्स्ट्रक्सन प्रालि र वैकल्पिक ऊर्जाको टिमले दसैँसम्म पावरहाउसमा बिजुली बाल्ने गरी काम तीव्रगतिमा भइरहेको जानकारी दिएको छ ।

आयोजनाको जेनेरेसनको काम ८५ प्रतिशत र लाइन विस्तार गर्ने काम गत आर्थिक वर्षको अन्तिमतिर नै सम्पन्न भइसकेको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धनका इन्जिनियर दिनेश थपलियाका अनुसार आयोजनाको बिजुली यहाँका गाउँ–गाउँमा पुग्न अझै एक वर्ष जति समय लाग्ने छ । उक्त आयोजनामा वैकल्पिक ऊर्जाको रु ३१ करोड  लगानी छ भने गाउँपालिका र स्थानीय जनताको रु १३ करोड  लगानी छ । 

चुकेनीखोलाको बिजुली छिटोभन्दा छिटो उत्पादन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराको भनाइ छ ।

नौ सय ९८ किलोवाट क्षमता रहेको  आयोजनाबाट बिजुली उत्पादन हुने पातारासी गाउँपालिकाले जनाएको छ । विसं २०७६ जेठ १० गते सम्झौता भई आयोजनाको काम अगाडि बढेको थियो । अठार महिनाभित्र सकिने आयोजनाको काम कोरोना र अन्य कारणले चार वर्ष पार गरिसक्दा पनि निर्माण सम्पन्न हुनसकेको छैन ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद