Media Network

करोडौं मूल्य पर्ने सरकारी जग्गा ब्यक्तिको नाममा किनबेच !


अञ्जन बस्नेत

२१ जेष्ठ २०८०,आईतवार

बुटवल । सरकारी जग्गा कुनै पनि व्यक्तिको नाममा गर्न मिल्दैन तर रुपन्देहीको बुटवल उपमहानगरपालिका १२ (साविक १४ नम्बर वडा) मा करोडौं मूल्य पर्ने सरकारी जग्गा मालपोत कार्यालय बुटवलले ब्यक्तिको नाममा गरिदिएको छ । विचौलियासँगको मिलेमतोमा मालपोत कार्यालय बुटवलले २९ कठ्ठा सरकारी जग्गा व्यक्तिको नाममा गरिदिएको खुलासा भएको हो । जग्गा ब्यक्तिका नाममा मिलाउन करोडौं रुपैयाँको चलखेल भएको स्रोतले बताएको छ । 

उक्त सरकारी जग्गा लामो समयदेखि तिलकबहादुर केसीले भोगचलन गर्दै आएको स्थानीयले बताएका छन् । तिलकबहादुरले भोगचलन गर्दै आएको उक्त सरकारी जग्गा ५ वर्ष पहिले बुटवलस्थित मालपोत कार्यालय र नापी कार्यालयबाट मिलाएर समरबहादुर थापाले आफ्नो नाममा बनाएको स्रोतको भनाई छ । केसी बुटवल उपमहानगरपालिका वडानं१२ का निवर्तमान वडासदस्य पनि हुन् । बुटवल उपमहानगर १२ स्थित उक्त जग्गामध्ये हाल १ विगाह तिलकबहादुरले आफ्नो नाममा गरेका हुन् ।  कित्ता नम्बर ५२ को उक्त एक बिगाह जग्गाको लालपुर्जा केसीको नाममा छ भने बाँकी नौ कठ्ठा जग्गा अन्यले किनेका थिए ।

गुपचुप नै रहेको यो विषय पाँच वर्षपछि अख्तियार पुग्ने भएपछि भित्रभित्रै मिलाउने चलखेल भइरहेको छ । बुटवल मालपोत र नापीबाट मिलाएर जग्गा पास गरिएको तथ्य फेला परेको हो । स्थानीय बालप्रसाद चुँदालीको सक्रियतामा उक्त सरकारी जग्गा ब्यक्तिको नाममा मिलाइएको स्रोतको दाबी छ । समरबहादुर थापाको देहवास भएपश्चात जग्गा उनको श्रीमतीको नाममा नामसारी भएको थियो । तर उक्त जग्गा आफ्नो नाममा नरहेको समरबहादुरका छोरा अंकन थापाले बताए ।

अंकनले आफूलाई त्यसजग्गाको धेरै जानकारी नभएको बताएका छन् । उनले बाबुले जग्गा किनेको र बुवाको मृत्युपश्चात आमाको नाममा आएको तर अहिले जग्गा बिक्री भइसकेको भन्दै आफ्नो नाममा नरहेको जानकराी दिए । उनले पहिले वडा कार्यालयमा जग्गाको भूमीकर पनि आफूहरुले नै तिरेको पनि अंकनले बताए । तर उनले बाबुले को मार्फत जग्गा किनेको भन्ने थाहा नभएको बताए । 

बुटवल उपमहानगरपालिका १२ का वडाध्यक्ष वडाअध्यक्ष डिल्लीप्रसाद आचार्यले उक्त जग्गा हजुरबुबाको पालादेखि नै उनिहरुले भोगचलन गर्दै आएको बताएका छन् ।

जग्गा मिलाइदिने भनिएका चुँदाली आफ्नो गाँउको दाई रहेको र आफ्नो राम्रैसँग चिनजान रहेको अंकनले बताए । चुँदाली भने खबरस्टोरीको फोनसम्र्पकमा आएनन् । 

समरबहादुर थापाको नाममा दर्ता भएको उक्त जग्गाको नगरपालिकामा भूमिकर तिरेको पनि देखिएको छ । उक्त जग्गा समरबहादुर थापाको नाममा दर्ता भई वि.सं २०७४मा भुमिकर तिरेको १२ नम्बर वडाका वडानम्बर वडाअध्यक्ष आचार्यले बताए । जग्गा थापाको नामबाट उनको श्रीमतीको नाममा नामसारी भएको र हाल अन्य व्यक्तिहरुमा बेचिएको वडाध्यक्ष आचार्यले बताए । 

रूपन्देहीका धेरै सार्वजनिक जग्गा भू–माफिया मार्फत व्यक्तिका हातमा पुग्ने गरेकोले यो सरकारी जग्गा ब्यक्तिको हातमा पुगेको पहिलो जग्गा भने होइन । बुटवलमा आँकडा, बहाल बिटौरी र कोदाले जग्गामा बस्नेहरूको संख्या पनि धेरै छ । वडाअध्यक्ष आचार्यकाअनुसार, वडानम्बर १२ को त्यसजग्गा आँकडा प्रकृतिको हो । झाडी फाँडेर व्यक्तिले भोगचलन गरेको तर लालपुर्जा नबनेको जग्गालाई आँकडा जग्गा भनिन्छ । 

उक्त जग्गा आफूलाई थाहा भएअनुसार समरबहादुर थापाको बाबुको पालाबाट नै भोगचलन भइ आएको आचार्यले बताए । उनका अनुसार, वि.सं २०२६/२७ बाट नै भोगचलनमा थियो । तर लालपूर्जा कसरी बन्यो, चौकिल्ला कसले सिफारिस गर्यो आफूलाई थाहा नभएको वडाध्यक्ष आचार्यले बताए । ‘जनप्रतिनिधिबाट नै सिफारिस भएको हो या होइन थाहा छैन । हामिलाई लालपुर्जा बनेपछि भूमीकर तिरेपछि थाहा भएको हो बाँकी मालपोत र नापी कार्यालयलाई थाहा हुन्छ ।’– वडाध्यक्ष आचार्यले भने । 

मालपोत कार्यालय बुटवलका प्रमुख उपेन्द्रराज पौडेलले भने उक्त जग्गा व्यत्तिको नाममा लालपुर्जा कसरी आएको भन्ने खोजी गरिरहेको बताएका छन् । उनले कम्प्युटरमा अभिलेख कसरी कसले गर्यो कम्प्युटरमा दर्ता गर्न सफल भए पछि मोठ (जग्गाको अभिलेख राख्ने रजिस्टर) मा अभिलेख कसले राख्यो खोजीरहेको बताएका छन् ।

‘त्यो आँकडा उल्लेख भएको जग्गा हो । कसले, कसरी लालपुर्जा बनायो, हामी खोज्दैछौं,’ पौडेलले भने । मालपोत कार्यालय, बुटवलका प्रमुख अर्यालले उक्त लालपुर्जा अनाधिकृत देखिएकोले बदर गरिएको भनी वडा कार्यालयमा चिठ्ठी पठाएको जानकारी दिएका छन् । 

यसअघि बुटवलउपमहानगर–१७ मा रहेको २२ कट्ठा सरकारी जग्गाको पनि व्यक्तिको नाममा लालपुर्जा बनेको थियो । पछि फिर्ता गराइएको थियो । नापी कार्यालयमा २०७०सम्म ऐलानी देखिएको उक्त जग्गा मालपोत कार्यालयमा कित्ता नम्बर थपेर व्यक्तिको नाममा गराइएको थियो ।

नापीको रेकर्डमा सरकारी देखिए पनि मालपोत कार्यालयमा भने व्यक्तिको नाममा पास गरिएको थियो । नापी कार्यालयका सुचना अधिकृत ज्ञानेश्वर पन्तका अनुसार हाल उक्त जग्गा मालपोत कार्यालयले खारेज गर्न भनेपछि सबै कित्ताहरु हटाइ पुनः ५२ नम्बर कित्तामा नै ल्याएको हो । “हामीलाई मालपोतबाट कित्ता हटाउन पत्र आएपश्चात कम्प्युटरबाट हटाई ५२ नम्बर कित्ताकै नक्सा जारी गरिसकेको छ ।’’– उनले भने । 

एैलानी जग्गा जग्गा व्यक्तिको नाममा नामसारी हुँदै हाल किनबेच पनि भइसकेको अवस्थामा नापी कार्यालय र मालपोत कार्यालय अनविज्ञ देखिएको छ । मालपोत कार्यालय अझै पनि उक्त जग्गा कसले कसरी नामसारी गर्यो भनेरअनुसन्धानकै क्रममा छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद