Media Network

सरकारी जग्गामा भू–माफियाको रजाइँ


खबरस्टोरी संवाददाता

१७ भाद्र २०८०,आईतवार

काठमाडौँ।देशमा भू–माफियाहरुको हातबाट सरकारी जग्गा जोगिन सकेको छैन। विभिन्न प्रकरणमा गरि भूू–माफियासँगको मिलेमतोमा जग्गा हडपेको भन्दै नेता तथा नेताको आफन्तहरु एकाएक गरि तानिरहेको छन्।भू–माफियाहरुले कति रोपनी जग्गा हडपेका छन् भनेर आंकलन गर्न सक्ने अवस्था छैन।

भू–माफियाहरुको समुह मिलेर उपत्यका र पहाडमा छुट दिने गरी ७६ हजार ७ सय ६६ रोपनी जग्गा कर्लप्पै पार्ने गरी ऐन संसोधन गर्ने तयारी गरेका छन् । नेपालमा फाटिला ठाउँ देख्न नहुने जग्गाका माफियाहरुले लुट्नका लागि ऐनको साहरा लिएर कम्पनीका नाममा सट्टाभर्ना गर्ने जुक्ति लाएका छन् । अहिले यो लाईनमा १६९ कम्पनी छन् ।

८ हजार ४२९ बिघा मधेसमा मात्रै छुट माग्न दलालको गिरोह सक्रिय छ । भू–माफियाका लागि दाहिना भएका ओलीले ऐन संसोधन गरेर लुट मच्चाउने छुट दिएपछि गिरोह झन सक्रिय भएको हो । सरकारी जग्गा खान थप १०१ कम्पनीहरुले निवेदन हालेका छन् । झट्ट हेर्दा सरकार भू–माफिया पोस्ने अनि न्यायालयले त्यसलाई रोक्नुपर्ने अवस्था आएको छ ।

ललिता, गिरीबन्धु, यति होल्डिङ र गोकर्ण फरेष्ट रिसोर्ट लगायतका यी देखिएका जग्गा काण्ड प्रतिनिधि घटना हुन् । नेपालमा अहिले टि स्टेहरुलाई रियल स्टेटमा बदल्न भू–माफियाहरुको ठूलो गिरोह सक्रिय छ । जसका लागि चोरलाई चौतारो भने जस्तो राज्यनै उनीहरुको सहयोगी बनेको छ ।

यसरी जग्गामाथि ज्यादती गर्नेलाई राज्य संयन्त्रले पनि छुटमात्रै दिएको छैन, आफै मतियार जस्तो बनेको छ । सुरुमा यस्ता माफियाहरुले सरकारबाट लिजमा जग्गा फुत्क्याउँछन् । त्यसपछि सिधैं जरो गाँडेर कब्जा हान्छन् । जग्गा सट्टाभर्नासम्बन्धी ऐन नै जारी भएपछि झन गिरीबन्धु जस्ता धेरै जग्गा भूमाफियाको हातमा जान तयार भएर बसेका छन् । तर राज्यले माफियालाई सुम्पिने र न्यायालयले रोक्ने श्रृखंला नै देखिएको छ । देशको सबैभन्दा ठूलो रोग नै भूमाफिया बनेको छ ।

यस्ता छन् भूू–माफियाको हातमा परेको पाँच जग्गा प्रकरण

ललिता निवास जग्गा प्रकरण

राजनीतिक पहुँच विस्तार गरेर योजनाकारदेखि मतियार समेतको मिलिभगतमा कर्लप्पै पारिएको ललिता निवासको १४३ रोपनी जग्गा प्रकरण अहिले अदालती विषय बनेको छ । पक्राउ परेकाहरु हिरासतमा छन् भने पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईको पनि नाम जोडिएको छ । जो अहिलेको जग्गाकाण्डको हिटलिस्टमा छ । मीनबहादुर गुरुङ जस्ता योजनाकार, मतियार र विचौलियाको चंगुलमा परेर नक्कली मोहीमार्फत व्यक्तिको नाममा पुगेको यो प्रकरण अझै सेलाएको छैन । यसमा तल्लो तहका कर्मचारीदेखि उपल्लो ओहोदामा भएका राजनीतिक नेतृत्व संलग्नता छ । राजनीतिक बलमै जग्गा खाएको प्रहरी अनुसन्धानले देखाएको छ । अर्बाैको यो घोटाला प्रकरण सरकारले प्रभावित पार्न खोजिरहेको छ ।

गिरीबन्धु टि–स्टेट

विवादित व्यापारी दीपक मल्होत्राको स्वार्थमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ऐन नै संसोधन गरेर झापामा रहेको गिरीबन्धु टि–स्टेटलाई सट्टाभर्नाको बाटो खोलिदिएपछि जग्गामा गिद्धे नजर लगाएका भू–माफियाहरु झनै सल्वलाए । गिरीबन्धुको ३४० बिघा जग्गा अन्यत्र सट्टाभर्नाको लागि ऐन नै संसोधन गर्न भू–माफियाहरु सफल भएका थिए । तर सर्वोच्च अदालतले रोकेपछि कार्यान्वयन हुन सकेको छैन । यद्यपी विचौलियाहरुले जग्गा दिने शर्तमा ५ सय बढीसँग ५० करोड हाराहारीमा बैना रकम समातेका छन् । यसलाई रिट निवेदकले भू–माफियाको स्वार्थमा राज्य संयन्त्रले जग्गा सट्टाभर्नाको नाममा बेचेर खाने बाटो खोलिदिएको भन्दै नीतिगत भ्रष्टचार गरेको भनेका छन् ।

इलामको ३२ सय बिघा चिया बगान प्रकरण

अहिले कहलिएका र देखिएका यी ललिता र गिरीबन्धु प्रतिनिधि घट्ना हुन् । गिरीबन्धुलाई विर्साउने त्यही इलामको अर्को ३२ सय बिघा चिया बगान प्रकरण बाहिर प्रकट भएको छ । २३ वर्षदेखि एकक्षत्र राज गरिरहेको विवादित घराना त्रिवेणी ग्रुपले राज्यलाई तिर्नुपर्ने २६ करोड भाडाको रकम नतिरेपछि यसको भेद खुलेको हो । २०५७ सालमा सरकारले ६५ प्रतिशत सेयर त्रिवेणी संघाई समूहका पुरुषोत्तमलाल संघाईलाई बेचेको थियो । बगान लिजमा लिँदा त्रिवेणी ग्रुपले सरकारलाई २६ करोड रुपैयाँ तिर्ने सम्झौता भएको थियो । तर राज्यलाई तिर्नुपर्ने रकम नतिरेर संघाई समूहले बठ्याई गरिरहेको छ । अहिले झापामा तीनसय बिघा क्षेत्रफलको गिरीबन्धु टि–स्टेटसम्बन्धी विवाद चर्किरहेको बेला त्रिवेणी ग्रुपको बदमासी बाहिर आएको हो । लिजको नाममा त्रिवेणीले सरकारी जग्गा हडप्ने प्रपञ्च सुरु गरेको छ ।

टीकापुर बजार क्षेत्र सरकारी जग्गा प्रकरण

पश्चिमको टीकापुर बजार क्षेत्रको करिब ६०० कट्ठा सरकारी जग्गा नक्कली कागज बनाएर नेता, कार्यकर्ता र तिनका आफन्तले मिलेमतोमा हत्याएको अर्काे प्रकरण फेला परेको छ । जसमा काँग्रेस नेतृ आरजु राणादेखि नागरिकता उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीसम्मको नाम छ ।

बाल संगठनको जग्गा प्रकरण

काठमाडौंको ‘प्राइम लोकेशन’मा ललिता निवासको सरकारी जग्गा मात्रै हिनामिना भएको छैन । नक्सालमा रहेको नेपाल बाल संगठनको जग्गा पनि कौडीको भाउमा स्वाहा बनाउने काम भएको छ । र यसको गन्दा धन्धा चलाउने पात्र हुन्, कुनैबेलाका सर्वमान्य नेता गणेशमान सिंहकी पुत्री रिता सिंह वैद्य । रिताकै आँडमा बाल मन्दिरभित्रको जग्गा नेपाली बजारमा सर्वाधिक विवादित छबिको ठूलो व्यापारिक घराना विशाल ग्रुपको कब्जामा पुगेको छ । यसका लागि विशाल ग्रुपले बृहस्पति विद्यासदनको नामबाट पुरुषोतमराज जोशीलाई अगाडि सारेको छ । जोशी बृहस्पति विद्यासदनका संस्थापक हुन् । जोशीमार्फत विशाल ग्रुप पछि मनोजकुमार मिश्र जस्ता ठूला पात्रले यस लुटकाण्डमा जोडिएका छन् । सीता आवासका रूपमा रहेको ११९ रोपनी १२ आना मध्ये झण्डै २९ रोपनी विशाल ग्रुपको कब्जामा छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद