Media Network

नक्कली भुटानी शरणार्थी प्रकरण : अदालती बयान प्रक्रिया आजदेखि सुरू


खबरस्टोरी संवाददाता

१२ जेष्ठ २०८०,शुक्रबार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको अदालती बयान प्रक्रिया आजदेखि सुरू हुने भएको छ ।प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पुर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, कांग्रेस नेता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायत १६ जना पक्राउ परेका छन् भने बाँकी १४ जना फरार छन् ।
सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालय काठमाडौंले बुधवार जिल्ला अदालत काठमाडौंमा ५ वटा कसुरमा मुद्दा दायर गरेको छ ।
राज्यविरुद्धको अपराध, संगठित अपराध, कीर्ते, ठगीलगायतका आरोप दर्ज गराएर मुद्दा दर्ता गराइएको छ । हिजो सार्वजनिक बिदा परेकाले आजदेखि अदालतमा बयान सुरू गर्न लागिएको हो ।
१६ जनाको बयान सकिन केही दिन लाग्ने निश्चित छ । एकजना प्रतिवादीको बयान गर्न कम्तीमा पनि २÷३ घण्टा लाग्नेछ ।
बयान सकिएपछि मात्र थुनछेक बहस सुरू हुनेछ । सरकारी वकिल र १६ जना प्रतिवादीका कानून व्यवसायी बहसमा सहभागी हुनेछन् । यो प्रकरणमा सचिव, सांसद, पूर्वगृहमन्त्रीजस्ता प्रतिवादी भएका कारण एकै प्रतिवादीले धेरै जना कानूनी व्यवसायीलाई बहसमा उतार्न सक्ने सम्भावना छ ।
बहस सुनिसकेपछि न्यायाधीशले साधारण तारेख, धरौटी माग्ने र कारागार चलान गर्नेमध्ये एउटा आदेश गर्नेछन् ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर २८ करोडभन्दा बढी ठगिएको भन्दै १ सय १५ जना पीडितहरूले उजुरी दिएका थिए । अझै सयौं पीडित सम्पर्कमा नआएको र केही प्रतिवादीहरूको पुरा विवरण नखुलेको भन्दै यो प्रकरणमा फेरि अनुसन्धान गर्ने बाटो प्रहरीले बाँकी नै राखेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते ३ जनालाई पक्राउ गरी यो घटनामा अनुसन्धान सुरू भएको थियो । उनीहरूलाई पक्राउ गरिएको ६०औँ दिनमा बुधबार अभियोग पत्र दर्ता भएको हो ।
अदालतमा अभियोग पत्र दर्ता भएपछि प्रतिवादीलाई थुनामा राख्न अब अदालतबाट म्याद लिइरहनु पर्दैन ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद