Media Network

भैरहवामा जजिराले पुनः उडान थाल्ने


खबरस्टोरी संवाददाता

३० बैशाख २०८०,शनिबार

काठमाडौं। भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा उडान रोकेको कुवेतको जजिरा एयरवेजले जेठ १ गतेदेखि पुनः उडान सुरु गर्ने भएको छ ।

 प्रतिकुल मौसम भएको भन्दै पुस ६ गतेदेखि फागुन २४ गतेसम्म उडान रोकेर पुनः फागुन २५ गतेदेखि हप्ताको तीन उडान थालेको जजिरा एयरवेजले वैशाख ६ गतेदेखि उडान रोकेको थियो ।

भैरहवा विमानस्थल महानिर्देशक हंसराज पाण्डेका अनुसार जजिराले आन्तरिक कारण देखाउँदै उडान रोकेको हो । उनले भने “जजिराले वैशाख ६ गते अन्तिम उडान गरेको थियो ।

 वैशाख ८ र १० गतेको उडान व्यावसायिक कारणले रद्द गरेको जानकारीपछि वैशाख २५ देखि नियमित उडान गर्ने जानकारी आएको थियो तर उक्त मितिमा समेत उडान नगरेको कम्पनीले जेठ १ गतेदेखि उडान गर्ने जानकारी गराएको छ ।”


जजिराले गौतम बुद्ध विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आएसँगै कुवेतमा सातामा तीन उडान गर्दै आएको थियो । जजिराले भैरहवाबाट राति २ बजे उडान भरेर त्यहाँको समय अनुसार बिहान ४ बजे कुवेतमा अवतरण हुँदै आएको थियो । 

नेपालबाट कुवेत ट्रान्जिट भएर जाने यात्रु धेरै हुने र त्यहाँबाट ट्रान्जिटका उडान बेलुका ३ बजेबाट मात्रै हुने भएकोले यात्रुको सहजताका लागि उडान तालिका व्यवस्थापनसहित सोमबारदेखि पुनः उडान सुचारु हुने महानिर्देशक पाण्डेले जानकारी दिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद