Media Network

गण्डकी प्रदेशसभा सभामुखमा कृष्ण धिताल निर्वाचित


खबरस्टोरी संवाददाता

३० पुष २०७९,शनिबार

गण्डकी । गण्डकी प्रदेशको सभामुखमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कृष्णप्रसाद धिताल निर्वाचित भएका छन् । उनले ३२ मत पाए । 

गठबन्धनका उम्मेदवार धिताललाई नेकपा (एमाले)का २१, नेकपा ९, माओवादीका आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र एक प्रदेशसभा सदस्यको साथ रहेको थियो । कांग्रेसले सरस्वती अर्याललाई सभामुखको उम्मेदवार बनाएको थियो । उनले २६ मत प्राप्त गरे । 

सभामुखको निर्वाचन प्रक्रियामा ५८ जनाले भाग लिएका थिए । एमालेबाट निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सभाको अध्यक्षता गरेकाले मतदानमा भाग लिएनन् भने नेपाली कांग्रेसका एक सदस्य अनुपस्थित रहेका थिए ।सभामुखमा निर्वाचित भएका धिताल मङ्सिर ४ गतेको निर्वाचनमा गोरखा क्षेत्र नं १ ९१० बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

उनी माओवादीको केन्द्रीय सदस्य तथा गोरखा जिल्लाको इन्चार्जसमेत हुन् । सत्ता गठबन्धनमा गण्डकी प्रदेशमा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी समझदारी भएको थियो । सोहीअनुसार नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन् । गण्डकी प्रदेशसभामा ६० सदस्य छन् । प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र एक स्वतन्त्र सदस्य रहेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद