Media Network

गण्डकीमा भोलि सभामुखको निर्वाचनः गठबन्धनबाट कृष्ण धिताल उम्मेदवार बन्ने


खबरस्टोरी संवाददाता

२९ पुष २०७९,शुक्रबार

कास्की । सत्तारूढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा (माओवादी केन्द्र)का कृष्णप्रसाद धिताल उमेदवार बन्ने भएका छन् । माओवादी केन्द्र गण्डकी प्रदेश सभा संसदीय दलको शुक्रबार साँझ बसेको बैठकले गोरखा क्षेत्र नम्बर १ (१)बाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित धिताललाई सभामुखको उमेदवार बनाउने निर्णय गरेको हो ।

सत्ता गठबन्धनमा माओवादी केन्द्रले सभामुख पाउने निर्णय यसअघि नै भइसकेको छ । गण्डकीमा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख पाउनेगरी भागबन्डा गरिएको थियो । सोहीअनुसार एमालेका संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर प्रदेश सभाबाट विश्वासको मत पाइसकेका छन् । गण्डकीमा गठबन्धनका पक्षमा बहुमत रहेकाले गठबन्धनका उमेदवार विजयी हुने निश्चित छ ।

सभामुख चयनका लागि प्रदेश सभाको बैठक शनिबार अपराह्न ३ बजे बोलाइएको छ । प्रदेश सभाको शुक्रबारको बैठकमा प्रदेश सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश सभामुख चयन गर्न शनिबार बैठक बोलाएका थिए ।प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उमेदवार टुंगो लगाइसकेको छैन । साठी सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य छन् । रासस



Share:
Reaction :
ताजा समाचार
खेलकुद