Media Network

घोराही–तुलसीपुर चार लेन सडक निर्माणको जिम्मा पाएको भारतीय कम्पनीसँगको ठेक्का सम्झौता खारेज


खबरस्टोरी संवाददाता

२ जेष्ठ २०८०,मंगलवार

दाङ । विगत ६ वर्षदेखि अलपत्र दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणको सम्झौता खारेज भएको छ । भारतीय कम्पनीले निर्माणको ठेक्का पाएको सडक लामो समयदेखि अलपत्र पारेपछि सरकारले सम्झौता खारेज गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सम्झौता खारेज भएको र अब नयाँ ढंगले निर्माण प्रक्रिया अघि बढ्ने जनाएकी छन् ।योसँगै अब सरकारले सडक मर्मत र निर्माण गर्ने बाटो खुलेको छ । जसअनुसार सडक डिभिजन कार्यालयले वर्षातअघि नै मर्मत सुधार गर्ने र नयाँ टेण्डर प्रक्रिया अघि बढ्ने भएको छ ।

यो सडक निर्माण गर्ने जिम्मा भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो ।

यसअघि निर्माण अलपत्र पारेको भन्दै घोराही–तुलसीपुर चार लेन ठेक्का रद्द प्रक्रिया अघि बढेको थियो । चार लेन परियोजना कार्यालय लमहीले तीन महिनाअघि सूचना प्रकाशित गरी ठेक्का रद्द गर्न १४ दिने सूचना जारी गरेर प्रक्रियामा लगेको थियो ।

ठेक्का रद्द गर्नु नपर्ने कारणसहित सम्बन्धित ठेकेदार कम्पनीलाई सम्पर्क गर्न सूचना जारी गरे पनि त्यसको उपयुक्त जवाफ नआएपछि खारेजीको प्रक्रियामा लगिएको हो । चार लेन ठेक्काको पटक–पटक गरी चौथो पटक म्याद थप गरिएको थियो । 

घोराही–तुलसीपुर चार लेनको काम २०७५ माघदेखि सुरु भएको थियो । तीस महिनामा काम सक्ने गरी सम्झौता भएको थियो ।तर, लामो समयसम्म पनि काम अघि बढ्न नसकेपछि तेस्रो पटक २०७९ वैशाख २९ गते सक्ने गरी म्याद थप भएको थियो । त्यो समयमा पनि ९ प्रतिशतभन्दा बढी काम हुन सकेन । खरिद ऐनको १२औं संशोधनले चौथो पटकका लागि २०८० असारसम्म स्वतः म्याद थप भए पनि त्यो समयसम्म गर्ने कामको पूर्वाधार तयार नभएपछि ठेक्का रद्द गरिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद