Media Network

हिजो सञ्चालनकै दिन ४ हजार ५ सयले चढे मौलाकाली केबलकार


खबरस्टोरी संवाददाता

२ बैशाख २०८०,शनिबार

गैँडाकोट । नवलपुरको गैँडाकोटमा नयाँ बर्षदेखि सञ्चालनमा आएको मौलाकाली केबलकारबाट चारहजार पाँचसय दर्शनार्थी यात्रुहरुले सेवा लिएका छन् ।नयाँवर्षको अवसरमा हिजो  विहानदेखि सेवा सुरुवात गरेको मौलाकाली केबलकार मार्फत हिजो नै चारहजार पाँचसय यात्रुहरुले मौलाकाली मन्दिरको दर्शन गरेको मौलाकाली केबलकार ब्यवस्थापन विभागका प्रमुख अभिषेक बिक्रम शाहले बताएक छन्।

शाहका अनुसार हरेकदिन विहान ६ वजेदेखिनै केबलकार सर्वसाधरणका लागि खुल्ला रहने भएको छ । हामिले हरेकदिन विहान ६ वजेदेखि नै केबलकार सञ्चालन गर्नेछौ। उनले भने, यात्रुहरुको चापको आधारमा साँझको बन्द हुने समय निर्धारण गर्छौ ।

आज विहान ६ वजेदेखि सञ्चालनमा आएको केबलकारको बटम स्टेशनबाट गैँडाकोट नगरपालिका वडा नं. ६ निवासी सय वर्षीया बृद्धा सरस्वती कंडेल र टप स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रुपमा यात्रा गरेका थिए।

उद्घाटनको अवसर पारेर केबलकारले दुइतर्फी मूल्य (आउन र जान) रु ५५० कायम गरिएको छ ।

केबलकारले ३ देखि ४ फिटसम्मका बच्चाबच्चीहरुको लागि रु ३३०, विद्यार्थीहरुको लागि रु ४१५ जेष्ठ नागरिकहरुको लागि रु ४१५ र फरक क्षमता भएकाहरुको (अपाङ्ग) लागि रु २७५ को टिकट दर रहेको छ । केवलकारले सार्वजनिक गरेको यो टिकटको मूल्य केहिसमयका लागि मात्रै हो ।

त्यसैगरी मौलाकाली केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा तलका बच्चाबच्चीहरुको लागि निःशुल्क सेवा दिने जनाएको छ । मौलाकाली केबलकारको टिकट प्राप्त गर्नका लागि सर्वसाधारण यात्रुहरुले मोबाइल एप्लीकेशनमा आईएमइ पे डाउनलोड गरि सोहि एप मार्फत टिकट काट्न सक्नेछन् भने केबलकारको कार्यालय तथा आइएमई पेका आधिकारिक एजेन्टहरु मार्फत समेत टिकट प्राप्त गर्नसक्नेछन् ।

गैँडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका लागि बैशाख एकगतेदेखि नै केबलकार सञ्चालनमा आउने भएपनि औपचारिक उद्घाटन मध्य बैशाखसम्म गर्ने तयारी रहेको छ । एकहजार दुईसय मिटर लामो केबलकारमा ६ वटा टावर निर्माण गरिएको छ । १२ वटा यात्रुबोक्ने डब्बा (गोन्डुला) र दुईवटा सामान बोक्ने डब्बा राखिएको छ । एउटा (गोन्डुला) डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ। हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्ने कम्पनीले जनाएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद