Media Network

कोशी प्रदेशका मन्त्रीहरुको सम्पत्ति विवरण, कसको कति सम्पत्ति?


खबरस्टोरी संवाददाता

२८ चैत्र २०७९,मंगलवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । अधिकांश मन्त्रीहरूको विभिन्न कम्पनीमा शेयर तथा लगानी देखिएको छ ।

कोशी प्रदेशका ६ मध्ये ४ जनाको काठमाडौँ उपत्यकामा घर र जग्गा रहेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणमा मुख्यमन्त्री हिकमत कार्की, सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, स्वास्थ्य मन्त्री निर्मला सुब्बा र पर्यटन बन तथा वातावरण मन्त्री जीवन आचार्यको उपत्यकामा घर जग्गा रहेको उल्लेख छ ।

यस्तै ताप्लेजुङ निर्वाचन क्षेत्र भएका खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री तिलकुमार मेन्यांवोको इटहरी र र तेह्रथुम निर्वाचन क्षेत्र भएका भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईँको झापाको बिर्तामोडमा पनि जग्गा रहेको देखिन्छ ।

कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले भने झापामा मात्रै आफ्नो घर जग्गा रहेको विवरण पेस गरेका छन् ।

मुख्यमन्त्री कार्कीसँग झापा र ललितपुरमा घर, ९० लाख ऋण

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीन वटा घर रहेको विवरणमा उल्लेख गरेका छन् । मुख्यमन्त्री कार्कीले झापाको गौरादह नगरपालिका १ र ३ तथा ललितपुरको महालक्ष्मी नगरपालिका ४ मा घर रहेको उल्लेख गरेका हुन् ।

झापाका दुई वटा घर भने दाजु दीपक कार्कीसँग सगोलमा रहेको उल्लेख छ । ललितपुरको घर भने उनकी श्रीमतीको नाममा छ ।

सम्पति विवरणमा कार्कीले श्रीमती अञ्जना पाण्डे कार्कीको नाममा लिभरपुल एजुकेशन नेटवर्कमा २१ लाख ३८ हजार ७०० लगानी रहेको उल्लेख गरेका छन् । कार्कीको नाममा ड्रिमल्याण्ड हाउजिङमा १० लाख र शहीद मेमोरियल अस्पतालमा एक लाख ५० हजार लगानी गरेको उल्लेख छ ।

कार्कीका अनुसार उनीसँग ६ तोला सुन र १० तोला चाँदी समेत छ ।

२३ लाखमा सेन्ट्रो कार खरिद गरेको उल्लेख गरेका कार्कीले ललितपुरको महालक्ष्मी नगरपालिकामा १ करोड ४० लाखमा घर खरिद गर्दा एभरेष्ट बैंकबाट लिएको ९० लाख रुपैयाँ ऋण लिएको देखाएका छन् ।

विवरणमा चार वटा बैंकका खाता नम्बर लेखेका कार्कीले बैंकमा रहेको रकम भने उल्लेख गरेका छैनन् ।

जीवन आचार्यसँग दुईवटा घर, २० तोला सुन, ४५ लाख बैंक ब्यालेन्स

पर्यटन वन तथा वातावरणमन्त्री जीवन आचार्यसँग दुईवटा घर छन् । आचार्यले ललितपुर र विराटनगरमा घर रहेको सम्पत्ति विवरणमा लेखेका छन् । उनले बुढीगंगामा पर्याप्त जग्गा रहेको पनि लेखेका छन् ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँसमेत रहेका पर्यटन मन्त्री आचार्यको नाममा ललितपुरको सुनाकोठीमा १० आना २ पैसा जग्गामा बनेको अढाइ तले घर छ । यसैगरी विराटनगर महानगरपालिका-१ मा १५ धुरमा बनेको अढाइ तले पक्की घर पनि आचार्यसँग छ । ललितपुरको घर ३६ लाख र विराटनगरको घर साढे १३ लाखमा खरिद गरेको उनले उल्लेख गरेका छन् । खरिदको स्रोत भने व्यावसाय र पैतृक भएको उनले उल्लेख गरेका छन् ।

आचार्यसँग मोरङको साबिक हात्तीमुढा गाविस (हाल बुढीगंगा गाउँपालिका) वडा नम्बर ४ मा २ हजार ६३० वर्ग मिटर जग्गा पनि छ । यसैगरी साबिक हात्तीमुढा गाविस-२ मा १ हजार ९४७ वर्ग मिटर र २ हजार ३१ वर्ग मिटर जग्गा रहेको पनि उनले उल्लेख गरेका छन् । हात्तीमुढा २ को जग्गाको स्रोत पैतृक रहेको उल्लेख गरेका उनले अन्य जग्गा भने व्यावसायबाट खरिद गरेको बताएका छन् ।

आचार्यसँग २० तोला सुन र ५० तोला चाँदी छ । आचार्यले चार वटा बैंकमा ४५ लाख रुपैयाँ मौज्दात रहेको विवरण पेश गरेका छन् । प्रभु बैंकबाट ५ लाख र सुनसरीका ओम थापासँग ८० लाख रुपैयाँ ऋण लिएको विवरण पनि उनले पेश गरेका छन् ।

एनस्याट प्रालि काठमाडौंमा ३३ प्रतिशत शेयर ३० लाख रुपैयाँमा र जेएमडी ग्रुप अफ कम्पनी काठमाडौंको ५० प्रतिशत शेयर ५० लाखमा खरिद गरेको पनि आचार्यले उल्लेख गरेका छन् । शेयर हात्तीमुढाको जग्गा बिक्री तथा लाइफ कम्प्युटर प्वाइन्टको व्यवसायबाट भएको आम्दानीबाट खरिद गरेको उनको भनाइ छ ।

बुद्धिकुमार भण्डारीका तीन घर, ५६ हजार कित्ता सेयर

सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीका तीन वटा घर छन् । उनले काठमाडौं(३२ मा एउटा र सोलुखुम्बुको सोलुदूधकुण्ड(६ मा दुई वटा घरजग्गा रहेको उल्लेख गरेका छन् ।

काठमाडौंको घरजग्गा व्यावसायबाट भएको आम्दानीले २०५८ सालमा खरिद गरेको उल्लेख गरेका उनले सोलुखुम्बुको सम्पति भने पैतृक भएको उल्लेख गरेका छन् । उनले सोलुखुम्बुमा विभिन्न कित्ता नम्बर उल्लेख गरी १० हजार ६९२ वर्ग मिटर जग्गा रहेको उल्लेख गरेका छन् । निर्माण व्यावसायीसमेत रहेका राजभण्डारीले आफूसँग ३ तोला सुन रहेको उल्लेख गरेका छन् । उनले १२ वटा बैंकमा १० लाख ७६ हजार नगद रहेको उल्लेख गरेका छन् ।

उनीसँग विभिन्न कम्पनीमा ५६ हजार ३५० कित्ता शेयर पनि छ । सोलुखुम्बु ग्रुपमा उनको ३० हजार कित्ता छ । बेनी हाइड्रोमा २० हजार, सोलु हाइड्रोमा ५ हजार कित्ता शेयर रहेको उल्लेख गरेका छन् ।

२० लाख रुपैयाँ ऋण देखाएका उनले २८ लाखमा खरिद गरेको टाटा सुमो, २४ लाख ५० हजारमा खरिद गरेको ट्याक्टर, २ थान मोटरसाइकल र १ थान स्कुटर रहेको विवरण पनि पेश गरेका छन् ।

निर्मला लिम्बूसँग दुई वटा घर, २२ तोला सुन र कपडा उद्योग

स्वास्थ्यमन्त्री निर्मला लिम्बूले दुई वटा घर देखाएकी छन् । ताप्लेजुङको फुङलिङ-६ र ललितपुरको सानो हात्तीवनमा उनको घर जग्गा छ ।

झापामा पनि उनको जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । २२ तोला सुन र ३५ तोला चाँदी रहेको विवरण उल्लेख गरेकी उनले आफ्नो नाममा युमा कपडा उद्योग रहेको उल्लेख गरेकी छन् ।

तर उद्योगको विवरण भने उल्लेख गरिएको छैन । आफ्नो नाममा एउटा स्कुटर पनि रहेको उनले पेश गरेको विवरणमा उल्लेख छ ।

दुर्गाप्रसाद चापागाईंसँग श्रीमतीको नाममा घर, १ करोड बढी ऋण

भौतिक पूर्वाधार मन्त्री दुर्गाप्रसाद चापागाईंले झापाको विर्तामोडमा श्रीमती इन्दिरा कार्कीको नाममा घर रहेको उल्लेख गरेका छन् । श्रीमती कार्कीको मोरङ सुन्दरहरैंचा-१ मा १ विगाहा १० कठ्ठा जग्गा रहेको उनले उल्लेख गरेका छन् ।

३ तोला सुन, ५ तोला चाँदी रहेको विवरण पेश गरेका उनले अपर खोरङ खोला जलविद्युत आयोजनामा १।२५ प्रतिशत र अपर सोलुमा पनि ०.४८ प्रतिशत शेयर रहेको उल्लेख गरेका छन् ।

उनले घर बनाउन, जग्गा खरिद गर्न, शेयर खरिद गर्न र चुनाव लड्न इष्टमित्र तथा आफन्तजनबाट १ करोड २० लाख रुपैयाँ ऋण लिएको विवरण पनि उल्लेख गरेका छन् ।

तिलकुमार मेन्याङ्बोसँग ७ तोला सुन, झण्डै ४ लाख बैंक ब्यालेन्स

खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बो लिम्बूले ताप्लेजुङको पाथीभरा याङ्वरक-२ मा घर रहेको उल्लेख गरेका छन् । फुङलिङ बाहेक सुनसरीको इटहरी उपमहानगरपालिका(६ मा पनि उनको १६ धुर जग्गा छ ।

७ तोला सुन, विभिन्न बैंक खातामा ३ लाख ८९ हजार ५८३ रुपैयाँ नगद रहेको सम्पत्ति विवरण बुझाएका छन् । उनको नाममा विभिन्न चारवटा कम्पनीमा ४० कित्ता शेयर रहेको उल्लेख छ ।

उद्योगमन्त्री सिटौलासँग ५० तोला सुन र ५०० तोला चाँदी तर घर छैन !

उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले आफ्नो घर देखाएका छैनन् । विर्तामोड ७ मा विभिन्न कित्तामा गरेर ३० कट्ठा ५ धुर जग्गा रहेको उल्लेख गरेका छन् । जग्गाको स्रोत पैतृक रहेको उल्लेख छ ।

सम्पत्ति विवरणमा उनको ५० तोला सुन र ५०० तोला चाँदी रहेको उल्लेख गरेका उनले ३० लाखको कार र २ लाख ५० हजारको होण्डा मोटरसाइकल रहेको उल्लेख गरेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद