Media Network

खानेपानी माग्दै मेयर हर्क साम्पाङ बालुवाटारमा


खबरस्टोरी संवाददाता

२१ चैत्र २०७९,मंगलवार

विराटनगर । धरानमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानको खोजी गर्दै मेयर हर्क साम्पाङ नेतृत्वको टोली बालुवाटार पुगेको छ । उनी धरानमा खानेपानी वितरण कार्यमा दिनहुँजसो श्रमदान गरिरहेका छन्।

कोशी नदीबाट धरानमा खानेपानी झार्ने बजेट विनियोजनका लागि धरान उपमहानगरपालिकातर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष मेयर साम्पाङले ज्ञापन पत्र बुझाएका छन् । मेयरसँगै उपमेयर आइन्द्रविक्रम बेघाले पनि प्रधानमन्त्रीलाई भेटेका छन् ।

मेयर हर्क साम्पाङसहितको टोलीले आगामी आर्थिक वर्षको बजेटमा धरानको खानेपानी योजनालाई समेटिदिन प्रधानमन्त्रीसँग आग्रह गरे ।


उपमहानगरले प्रधानमन्त्रीलाई बुझाएको मागपत्रमा धरानको खानेपानीका लागि अनेक प्रयास भएपनि दीर्घकालीन समस्या समाधान गर्न कोशीको पानी ल्याउनुपर्ने आवश्यकता उल्लेख गरिएको छ । उक्त योजनाका लागि खानेपानी मन्त्रालयले डीपीआरसमेत तयार पारेकाले बजेट विनियोजन गर्न माग गरिएको छ ।

उपमहानगरले बानियाटार जलाशय निर्माणका लागि पनि बजेट मागेको छ । धरान-२० मा रहेको उक्त जलाशय निर्माण गर्न सके बर्खामासमा सर्दु र खर्दु खोलाको पानी सञ्चित गरेर कम्तीमा ४ महिना पुर्‍याउन सकिने उपमहानगरले भनेको छ । यसका लागि साढे १ अर्बको बजेट लाग्ने अनुमान गरिएको छ ।

हाल रहेको खानेपानी संरचना सुधार र पम्प तथा मोटर खरिदका लागि पनि पैसा मागिएको छ । शहरी विकास मन्त्रालयबाट गठित टोलीले पम्प र मोटरहरू खरिद गर्न आवश्यक रहेको सुझाव दिएकाले १० करोड रूपैयाँ बजेट विनियोजनका लागि संघीय सरकारसमक्ष माग गरिएको छ ।

मेयर साङपाङसहितको टोलीले आजै शिक्षामन्त्री अशोक राईलाई पनि भेटेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद