Media Network

रामजानकी विवाह: महोत्तरीबाट जन्ती जनकपुर प्रस्थान


खबरस्टोरी संवाददाता

१ पुष २०८०,आईतवार

महोत्तरी । मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । शनिबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात श्रीलक्ष्मीनारायण मठ मटिहानीको आतिथ्यता ग्रहण गर्दै जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन् । रामजानकी विवाह महोत्सवमा अयोध्याबाट जन्ती भई साधुसन्त जनकपुर आउने पुरानो परम्परा हो ।

महोत्सवमा अयोध्याका अतिरिक्त भारतका विभिन्न ठाउँबाट साधुसन्त आउने गरेका छन् । केही दशक पहिलेसम्म मङ्सिर शुक्लपक्ष लाग्नासाथै प्रतिपदाकै दिन भारतीय साधुसन्त मटिहानी हुँदै नेपाल प्रवेश गर्थे । यो तालिकामा पहिलो रात मटिहानी, दोस्रो रात जलेश्वर, तेस्रो रात महोत्तरीकै सहोडवा र चौथो दिन जनकपुर पुग्ने चलन थियो ।

जनकपुरधाममा सप्ताहव्यापी मनाइने रामजानकी महोत्सव त्रेतायुगमा अयोध्या नरेश दशरथ पुत्र श्रीराम र मिथिला विदेहका राजा शिरध्वज जनककी पुत्री सीताको मङ्सिर शुक्ल पञ्चमी तिथिका दिन विवाह भएको सम्झनामा मनाउँदै आइएको हो । हिन्दू परम्परामा श्रीराम विष्णुका अवतार र मर्यादा पुरुषोत्तम कहलिन्छन् भने सीता लक्ष्मीकी अवतार र आदर्श नारीका रूपमा पूज्य छन् ।

जनकपुरधाममा सम्पन्न गरिने महोत्सवको साप्ताहिक तालिकामा जनकपुर नगर दर्शन, फूलबारी लीला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर र स्वयम्बर तथा विवाह र रामकलेवा विधि छन् । महोत्सवको मुख्य दिन आज मङ्सिर शुक्ल पञ्चमीका दिन मध्याह्नपछि जनकपुरधामको विशाल रङ्गभूमि मैदानमा स्वयम्बर समारोह आयोजना हुँदैछ ।

वर दुलहाहरु चारैजना अवध अयोध्या नरेश दशरथका पुत्र र बेहुलीहरूमध्ये सीता र उर्मिला विदेहराज शिरध्वज जनकका र माण्डवी तथा श्रुतिकीर्ति राजा जनकका भाइ कुशध्वजका छोरी भएका रामायणमा वर्णित छ । विवाहको भोलिपल्ट रामकलेवा विधिका दिन जन्ती भई आएका भारतीय साधुसन्तलाई मिष्टान्न भोजन गराइ वस्त्रआभूषण र दक्षिणा दिएर बिदाइ गरिने चलन छ । यी सबै विधिका मुख्य आयोजक जानकी मन्दिर व्यवस्थापन रहँदै आएको छ ।विवाह महोत्सवमा जानकी मन्दिरका महन्थ राजा जनकको र जनकपुरकै राम मन्दिरका महन्थ राजा दशरथको भूमिकामा हुन्छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद