Media Network

समानुपातिकको निर्वाचन कार्यक्रम भदौ आठदेखि


खबरस्टोरी संवाददाता

२५ श्रावण २०७९,बुधबार

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भदौ ८ देखि सुरु गर्ने भएको छ । आयोगको बुधबार बसेको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो ।

निर्वाचन कार्यक्रम अनुसार आयोगले समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले भदौ ८ मा निवेदन दिन सूचना आह्वान गर्नेछ । भदौ १० देखि १२ गतेसम्म दलहरुले निवेदन पेस गर्नुपर्ने हुन्छ ।

उक्त निवेदन १३ गते आयोगले प्रकाशन गर्नेछ । भदौ १५ मा अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न प्रदान गर्ने आयोगको निर्वाचन कार्यक्रममा उल्लेख छ ।

राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची असोज २ र ३ गते पेस गर्नुपर्ने समय तोकेको छ । त्यस्तै उम्मेदवारको बन्दसूची असोज २२ मा प्रकाशन गर्ने कार्यसूची आयोगले तय गरेको छ ।

२३ असोजमा प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता गर्ने आयोगको तयारी छ । समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची कात्तिक ९ गते प्रकाशन गर्ने आयोगले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद