Media Network

सुदूरपश्चिममा आज गौरा पर्व मनाइँदै


खबरस्टोरी संवाददाता

१८ भाद्र २०७९,शनिबार

काठमाडौं । सुदूरपश्चिमको मुख्य चाड गौरापर्व शनिवार मनाइँदैछ । भदौ शुक्ल पञ्चमीदेखि गौरा पर्व शुरु हुन्छ । पर्वको भाद्र शुक्ल अष्टमीका दिनलाई गौराको मुख्य दिन अठवाली अथात् अष्टमी हर्षोल्लासका साथ मनाइन्छ । 

दार्चुला, बैतडी, डडेल्धुरासहितका पहाडी जिल्लामा आजको दिन गौराको पूजाआजा गरेर स्थानीय गौरादेवीको मन्दिरमा जात्रा लाग्ने गर्दछ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि गौरादेवीको मन्दिर स्थापना गरेको ठाउँमा जम्मा भएर पर्व मनाउने गर्छन् ।

सुदूरपश्चिमको मौलिका संस्कृतिको रुपमा रहेको गौरा पर्व भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने गरिन्छ ।

भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने गौराको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरूवात गर्दछन् ।

भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ । त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले मन्त्रिएको एक किसिमको धागो चढाउने चलन छ ।

अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन)मा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ । गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ । गौरापर्वमा सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा समेत दिइँदै आएको छ । 

यसैबीच, राष्ट्रपति र प्रधानमन्त्री तथा प्रदेश मुख्यमन्त्री लगायत विभिन्न दलका नेताले गौरा पर्वको अवसरमा शुभकामना दिएका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद