Media Network

सवारी दुर्घटनामा ६ जनाको मृत्यु


खबरस्टोरी संवाददाता

३० कार्तिक २०८०,बिहीबार

काठमाडौं । तिहारको दिन देशका विभिन्न ठाउँमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । सुनसरी, सर्लाही, रौतहट तथा पश्चिम नेपालको अछाममा भएको छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु भएको हो । 

सुनसरीको धरान उपमहानगरपालिका–६  मालपोत चोकमा बुधबार राती को २ ह ५५६५ नं को टेम्पो अनियन्त्रित भई दुर्घटना हुँदा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बूको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा सोही ठाउँका २३ वर्षीया जेनिशा मगर, ४५ वर्षीया अञ्जना मगर र २४ वर्षीया रविना मगर घाइते भएका छन् ।  त्यसैगरी, बा २७ प ८७०१ नं.मोटसाइकलको ठक्करबाट सुनसरीको इनरुवा–३ का ६० वर्षीय बालकुमार खतिवडाको मृत्यु भएको छ । खतिवडाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

यसैगरी, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–११, कडरिया चोकमा हरिपूर्वाबाट काठमाडौँका लागि छुटेको ना ६ ख ९११७ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ८० वर्षीय मानबहादुर राईको मृत्यु भएको छ । बुधवार साँझ सडक पार गर्ने क्रममा बसको ठक्करबाट गम्भीर घाइते भएका वृद्ध राईको उपचारका क्रममा एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । 

यसैगरी,  रौतहटको चन्द्रपुरमा अटो र मोटरसाइकल आपसमा ठोक्किँदा चन्द्रपुर– ४ की ३५ वर्षीया शैरुन खातुनको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका– ५ स्थित जगत पेटोलपम्प नजिक ना २ ह २४५३ नम्बरको अटो र ज ७ प ८२५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किर दुर्घटना भएको थियो । 

अछाममा पनि टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ह ५५४५ नम्बरको टेम्पो बुधबार राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना हुँदा अन्य चारजना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । घाइतेहरुको कमलबजार स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद