Media Network

सरकारसँग बार्तामा आन्दोलनरत शिक्षकहरू


खबरस्टोरी संवाददाता

५ आश्विन २०८०,शुक्रबार

काठमाडौँ । माग सम्बोधनका विषयमा आन्दोलनरत शिक्षक र सरकार आन्तरिक छलफलमा जुटेका छन् । सरकारसँग भएको अनौपचारिक वार्तामा शिक्षकहरूले आफ्ना मागहरू बुँदागत रूपमा प्रस्तुत गरेका छन् । 

तिनै मागहरूका विषयमा सरकारले आन्तरिक छलफल थालेको छ । शिक्षकहरूले समेत औपचारिक वार्ताको लागि वार्ता समिति गठन गर्ने र वार्तामा कसरी प्रस्तुत हुने भन्ने विषयमा आन्तरिक छलफलमा जुटेका हुन् । 

दुवै पक्ष आन्तरिक छलफलमा जुटेपछि वार्तालाई सार्थकता दिने गरी अगाडि बढ्ने दुवै पक्षबीच सहमति भएको छ । शिक्षकहरूसँगको छलफलअघि कार्यवाहक प्रधानमन्त्री समेत रहेका रक्षामन्त्री पूर्ण बहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले छलफल गरेका थिए । कार्यवाहक प्रधानमन्त्री खड्काले मन्त्रीहरूसँगको छलफलको क्रममा शिक्षकका माग र सम्बोधन गर्न सक्ने विषयबारे कुराकानी गरेका थिए ।

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा तीन दिनदेखि काठमाडौँमा आन्दोलन भइरहेको छ । सरकारले वार्ता गर्नको लागि गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । तर, आन्दोलित पक्षबाट हालसम्म वार्ता टोली गठन हुन सकेको छैन । महासङ्घका महासचिव लक्ष्मी किशोर सुवेदीले सरकारबाट आधिकारिक रूपमा वार्ताको लागि परिपत्र आएपछि मात्रै वार्ता टोली गठन गरिने र सोही आधारमा सरकारसँग औपचारिक वार्ता हुने बताए ।  

हालसम्म सरकारसँग औपचारिक वार्ता सुरु नभएको उनले बताए । सरकारले वार्ता टोली गठन गरेको जानकारी मात्र प्राप्त भएको तर, आफूहरूलाई वार्ताको लागि औपचारिक रूपमा पत्र नआएको बताए । 

‘अहिलेसम्म वार्ताको लागि परिपत्र आएको छैन । अहिले हामीले आन्दोलन र सरकारसँग अनौपचारिक छलफल सँगसँगै चलाइरहेका छौँ । औपचारिक रूपमा वार्ताको लागि पत्र आएपछि हामी पनि औपचारिक रूपमा नै जान्छौं ।’ महासचिव सुवेदीले भने । 

औपचारिक वार्ताको हालसम्म समेत सुरुवात नभएको भन्दै सरकारको तर्फबाट अनेकन प्रपञ्च रच्ने काम भइरहेको आन्दोलनरत शिक्षकहरूको ठहर छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद