Media Network

जर्मनीका लेजेण्ड बेकनबरको निधन


खबरस्टोरी संवाददाता

२४ पुष २०८०,मंगलवार

काठमाडौं । जर्मनीका फुटबल लेजेण्ड फ्रान्स बेकनबरको ७८ वर्षको उमेरमा निधन भएको छ ।
उनको परिवारले जर्मन न्युज एजेन्सी डीपीएमार्फत स्टेटमेन्ट जारी गर्दै बेनबाउरको निधन भएको र त्यसबाट आफूहरु दुःखी भएको जनाएको छ ।
विश्व फुटबलकै उत्कृष्ट मध्येका एक बेकनबरले जर्मनीबाट दुईपटक विश्वकप जितेका थिए । उनले सन् १९७४ मा आफ्नो कप्तानीमा पश्चिम जर्मनीबाट विश्वकप उपाधि जितेका थिए । यस्तै १९९० मा प्रशिक्षकको रुपमा विश्वकप जितेका थिए ।
उनी खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकप जित्ने तीनमध्ये एक हुन् । उनी बाहेक ब्राजिलका मारियो जागोला र फ्रान्सका डिडियर डेसच्याम्पले पनि दुई भूमिकामा उपाधि जितेका थिए । त्यसमध्ये पहिलो जागोलोको केही दिनअघि मात्र निधन भएको थियो ।
बेकनबरले पश्चिम जर्मनीका लागि १०३ खेल खेलेका थिए ।
‘डेर केइसर’ उपनामले परिचित बेकनबरले सन् १९७२ मा युरो कप पनि जितेका थिए । यस्तै दुई पटक बालोन डे ओर पनि जितेका थिए ।
मुख्यगरी डिफेन्समा खेल्ने उनले जर्मन महारथी बायर्न म्युनिखका लागि ५८२ खेल खेलेका छन् र बायर्नमा पनि खेलाडी र प्रशिक्षकको रुपमा लिग जितेका थिए ।
बायर्न छाडेपछि बेकनबरले अमेरिकी क्लब न्युयोर्क कोसमोसका लागि खेलेका थिए । जहाँ नर्थ अमेरिकन सकर लिगमा ब्राजिलका पेलेसँगै उनी पोस्ट ब्वाएको रुपमा थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद