Media Network

जर्सीलाई हराउँदै अमेरिका विश्वकपको छनोटमा


खबरस्टोरी संवाददाता

२२ चैत्र २०७९,बुधबार

काठमाडौं । आईसीसी विश्वकप छनोटको प्ले अफमा मंगलबार जर्सीविरुद्ध २५ रनको जित निकाल्दै अमेरिकाले  विश्वकप छनोटमा स्थान बनाएको छ ।

जितसँगै अमेरिका पाँच खेलबाट आठ अंक जोड्दै अमेरिकाले जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छ्नोटमा स्थान बनाएको हो । अमेरिकाले प्लेअफका पाँच खेलमध्ये चार जित र एक हारको नतिजा आत्मसात् गर्यो । चार खेलबाट दुई अंक जोडेको जर्सी तालिकाको पाचौं स्थानमा छ । 

मंगलबार नामिबियाको विन्डोहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा अमेरिकाले प्रस्तुत गरेको २३२ रनको लक्ष्य पछ्याउने क्रममा जर्सीले ४७.४ ओभरमा सबै विकेट गुमाएर २०६ रनमात्र बनायो ।

जर्सीका अशा ट्रिबले ७५ रन बनाए पनि टिमको हार टार्न सकेनन् । बेन्जामिन वार्डले ४६, जुलिस सुमेराउरले ३५, कप्तान चार्ल्स प्रर्चार्डले १६ र जोन्टी जिनरले ११ रन जोडे ।  

अमेरिकाबाट घातक बलिङ गरेका अली खानले सात विकेट लिए । खानले ९.४ ओभरमा ३२ रन खर्चिए । निसर्ग पटेलले दुई र जेसी सिंहले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको अमेरिकाले ५० ओभरमा सबै विकेट गुमाएर २३१ रनको योगफल खडा गरेको थियो ।

अमेरिकाका स्टिभ टेलरले ७९ रन जोडे । गजानन्द सिंहले ४१, जेसी सिंहले २९, निसर्ग पटेलले २३ र साइतेजा मुक्कामल्लले २१ रन बनाए ।

जर्सीका बेन्जामिन वार्डले चार विकेट लिए । इलोटन माइल्स र जुलिस सुमेराउरले समान दुई विकेट लिए ।

प्लेअफमा मंगलबार नै भएको अर्को खेलमा घरेलु टिम नामिबियाले क्यानडामाथि १११ रनको फराकिलो जित निकाल्यो । नामिबियाले प्रस्तुत गरेको २६८ रनको लक्ष्य पछ्याएको क्यानाडा ४२.२ ओभरमा एक सय ५६ रनमै समेटियो । त्यसअघि टस जितेर ब्याटिङमा आएको नामिबियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २६७ रनको योगफल तयार पारेको थियो ।

जितसँगै पाँच खेलबाट ६ अंक जोडेको नामिबिया तालिकाको दोस्रो स्थानमा छ । चार खेलबाट चार अंक जोडेको क्यानडा चौथो स्थानमा छ । 

आगामी जुनदेखि जुलाईसम्म जिम्बाब्वेमा हुने विश्वकप छनोटमा लिग–२ का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्डसँगै सुपर लिगका पुछारका पाँच र प्ले अफका शीर्ष दुई गरी कुल १० टोली हुने छन् ।

सुपर लिगबाट नेदरल्यान्ड्स, श्रीलंका, वेस्टइन्डिज र जिम्बाब्वेले विश्वकप छनोट खेल्ने पक्का भइसकेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद