Media Network

पोखरामा हुने माउन्टेन बाइक रेसमा ११ देशका ५५ प्रतिस्पर्धी


खबरस्टोरी संवाददाता

५ मंसिर २०८०,मंगलवार

पोखरा । पोखरामा एन्ड्युरो अन्तरराष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने भएको छ। माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा यही मङ्सिर ७ गतेदेखि पोखरा महानगरपालिका–१३ को आर्बा–विजय डाँडामा प्रतियोगिता हुन लागेको हो।

तीन दिनसम्म हुने प्रतियोगितामा विभिन्न ११ देशका खेलाडी सहभागी हुने आयोजकले जनाएको छ। प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माका अनुसार नेपालसहित ११ देशका ५५ जना प्रतिस्पर्धी सहभागी हुनेछन्। ८८ जनाले सुरुवाती दर्ता गरे पनि अर्को ठाउँमा प्रतियोगिताको मिति जुधेका कारण केही खेलाडी नाम दर्ता गरे पनि सहभागी हुन नसक्ने भएका हुन्।

प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइक गरी ७ विधामा प्रतिस्पर्धा हुनेछन्। इ–बाइक रेस नेपालमै पहिलोपटक हुन लागेको शर्माको दाबी छ।

प्रतियोगितामा मङ्सिर ७ र ८ गते अभ्यास खेल हुनेछन् भने ९ गते प्रतियोगिता हुनेछ। प्रतियोगिता समुद्री सतहबाट एक हजार ३६० मिटर उचाइमा रहेको आर्बा–विजय डाँडामा हुनेछ। 

प्रतियोगितालाई पोखरा महानगरपालिका, कास्की जिल्ला साइक्लिङ सङ्घ, पोखरा खेलकुद विकास समिति तथा पोखरा महानगरपालिका–१३ को वडा कार्यालयले समन्वय गरेका छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद