Media Network

‘प्रेमगीत ३’ नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने


खबरस्टोरी संवाददाता

१६ श्रावण २०७९,सोमबार

काठमाडौँ। चलचित्र ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकैदिन प्रदर्शन हुने भएको छ । नायक  प्रदीप खड्का र नायिका क्रिस्टिना गुरुङको शीर्ष भूमिका रहेको चलचित्र  सेप्टेम्बर २३, २०२२ अर्थात यहीँ असोज ७ गते नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने भएको हो । निर्माण टिमले सोमबार भारतीय संस्करणको पोस्टर सार्वजनिक गर्दै एउटै मितिमा चलचित्र प्रदर्शन हुने जानकारी दिएको छ । 

यस चलचित्रको ट्रेलर भने भदौ १६ मा साँझा हुनेछ। ‘प्रेम गीत ३’ २०१६ मा रिलिज भएको सुपरहिट चलचित्र ‘प्रेम गीत’ को तेस्रो संस्करण हो। यसअघि भारतमा ‘विश्वजितम’ शीर्षकमा चलचित्रलाई रिलिज गर्ने बताइए पनि शीर्षक ‘प्रेमगीत ३’ नै रहने भएको छ । पहिलेकै शीर्षक राख्दा व्यवसायिक रूपमा पनि फाइदा हुने देखेपछि निर्माण टिमले उक्त निर्णय गरेको बताएको छ । जी–म्यूजिक, यूएफओ र मधु इन्टरटेइनमेन्टले चलचित्रलाई भारतभर रिलिज गर्न लागेको हो । हल रिलिजको दुई महिनापछि ‘प्रेमगीत ३’ ओटीटी प्लेटफर्म अमेजनमा रिलिज हुने निर्माण टिमले जानकारी दिएको छ । 

निर्माताले महँगो मूल्यमा ‘प्रेमगीत ३’लाई भारत प्रदर्शनका लागि बेचेका हुन् । सन्तोष सेन र छेतन गुरुङको निर्देशन रहेको चलचित्रमा प्रदीप र क्रिस्टिनाका साथमा शिव श्रेष्ठ, सुनिल थापा, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, सन्तोष सेनलगायतको अभिनय छ । सन्तोष सेनको निर्माण रहेको चलचित्रको लेखन तथा निर्देशन छेतन र मन्दिप गौतम मिलेर गरेका हुन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद