Media Network

अर्थमन्त्री शर्माले भने– ४० करोड भन्ने मलाई थाहा छैन


खबरस्टोरी संवाददाता

२८ चैत्र २०७८,सोमबार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विवादित बनेको ४० करोडको हुण्डी काण्डबारे आफूलाई केही थाहा नभएको बताएका छन् । 

सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकोमा चौतर्फी बिरोध भएपछि अर्थमन्त्री जनार्दन शर्माले सोमवार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी सोबारे प्रष्टिकरण दिएका हुन् । तर पत्रकार सम्मेलनमा अर्थमन्त्रीबारे उठेको ४० करोडको हुण्डी काण्डबारे भने बोल्न चाहेनन् । त्यसबारेमा अनुसन्धान गर्न छानबिन समितिले काम गरिरहेको भन्दै अर्थमन्त्री शर्माले त्यसबारेका थप बोल्न चाहेनन् । छानबिन समितिले नै थप अध्ययन गरी सार्वजनिक गर्ने भनी अर्थमन्त्री शर्मा तर्किए ।  

‘छानबिन कमिटीले काम गर्दैछ । त्यसपछि मात्रै जवाफ आउँछ ।’–अर्थमन्त्री शर्माले भने, ‘४० करोड भन्ने मलाई थाहा छैन ।’

पृथ्वीबहादुर भन्नेसँग आफ्नो कुनै चिनजान पनि नभएको उनले बताए । गुनासो आएपछि आफूले सहजीकरण गर्दिनु मात्रै भनेको अर्थमन्त्री शर्मा प्रष्टीकरण थियो ।  

अर्थतन्त्रमा संकट नरहेकाे दाबी 

अर्थमन्त्री शर्मा अहिले नेपालको अर्थतन्त्रमा ठूलो संकट नआएको दाबी गरे । अहिलेको डेटाहरुबाट पनि अर्थतन्त्रमा संकट नआएको स्पष्ट हुने उनको भनाइ छ । 

श्रीलंकाजस्तो हुँदैछ भनेर प्रचारबाजी गरिएको भन्दै त्यसमा कुनै सत्यता नभएको अर्थमन्त्री शर्माले दाबी गरे । अर्थतन्त्रमा ठूलो संकट नआएको भए पनि शतर्क भएर काम गर्नुपर्ने अवस्था चाँही रहेको उनले बताए । 

‘देश श्रीलंका हुन्छ हुन्छ भनिएको छ, जबर्जस्ती श्रीलंका बनाउन खोजिएको छ, यो राष्ट्रघात हो । यो अफवाह हो’, मन्त्री शर्माले भने, ‘आज पनि ६७ अर्ब ट्रेजरीमा पैसा छ ।’ मन्त्री शर्माले दुबईमा धेरै नेपालीहरुको भिल्ला समेत रहेको भन्दै  त्यो नेपालबाटै गएको पैसा हुनसक्ने आशंका व्यक्त गरे ।  अहिले राजनीतिकरण गर्नका लागि अफवाह फैलाइएको मन्त्री शर्माको भनाइ छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद