Media Network

बजेटः केमा बढ्यो कर, केमा घट्यो?


खबरस्टोरी संवाददाता

१६ जेष्ठ २०८०,मंगलवार

काठमाडौं। सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कमा दिइँदै आएका विभिन्न छुटका दरहरु खारेज गरेको छ। सरकारले बजेट मार्फत करको दरमा फेरबदल गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले संसदमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै भने ’छुट तथा सहुलियत व्यवस्थामा पुनरावलोकन गरी कराधार विस्तार गर्ने उद्देश्यले मूल्य अभिवृद्धि करका एक सय ७० र अन्तःशुल्कका तीन सय ४० छुटका दर खारेज गरेको छु’ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् वार्षिक ५० लाखभन्दा बढी आय भएका व्यक्तिलाई लाग्दै आएको आयकरको दरमा सामान्य वृद्धि गरेको छ। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार छ महिना काम गरी फर्किएका नेपाली नागरिकले २०८० जेठ १ गतेदेखि आफूले प्रयोग गरेको एक थान मोबाइल फोन सेटको अतिरिक्त थप एक थान मोबाइल फोन सेट महसुल सुविधामा ल्याउन पाउनेछन्।

मोबाइल डिभाइस म्यानेजमेन्ट प्रणालीमा दर्ता हुन नसकेका मोबाइल फोन सम्बन्धित प्रयोगकर्ताले आगामी असार मसान्तसम्ममा तोकिएबमोजिम एकमुष्ट महसुल बुझाई दर्ता गर्नसक्ने छन्।

सामाजिक सुरक्षा कोषमा आवद्ध भई वैदेशिक रोजगारमा गई कम्तीमा लगातार १२ महिना काम गरी फर्केका व्यक्तिले आफ्नो साथमा ल्याएको एउटा जुनसुकै आकारको टेलिभिजनमा भन्सार महसुल छुट दिइएको छ।मुलुकमा आत्मनिर्भर भएका औद्योगिक वस्तुको स्वदेशी उत्पादनलाई संरक्षण गर्न भन्दै सरकारले केही वस्तुको आयातमा लाग्ने महसुल वृद्धि गरेको छ।

स्वदेशी उद्योगले यस्ता वस्तु आयोजनालाई बिक्री गर्दा लाग्ने मूल्य अभिवृद्धि कर र अन्तशुल्क छुट दिएर बिक्री गर्न सक्नेछन्।लघु, घरेलु तथा साना उद्योगको संरक्षण र प्रवद्र्धनका लागि यस्ता उद्योगले आफ्नो उत्पादन प्रयोजनका लागि पैठारी गर्ने घरायसी प्रयोजन हुने बाहेकका मिल र मेशिनरीमा एक प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था गरिएको छ।

सूचना प्रविधिमा विजनेश प्रोसेस आउटसोर्सिङ, सफ्टवेयर प्रोग्रामिङ, क्लाउड कम्प्युटिङ जस्ता सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई विदेशी मुद्रामा प्राप्त गरेको आयमा लाग्ने करमा ५० प्रतिशत छुट दिने व्यवस्था बजेटमा मिलाइएको छ।नेपालमा विद्युतीय सेवा बिक्री गर्ने गैरबासिन्दा व्यक्तिलाई करको दायरामा ल्याउन २०८० साल जेठ मसान्तसम्मको मूल्य अभिवृद्धि कर २०८० साल असार २५ गतेसम्म दाखिला गरेमा सोमा लाग्ने शुल्क, ब्याज र थप दस्तुर मिनाहा हुने व्यवस्था सरकारले बजेटमार्फत् गरेको छ।


विद्युती गाडीमा कर हेरफेरः कम क्षमतामा बढाइयो, बढी क्षमतामा घटाइयो

सरकारले विद्युतीय सवारीमा लगाउँदै आएको करको दर बढाएको छ।८ भन्सारसँगै अन्तःशुल्कसमेत बढाएको छ। कम क्षमताका विद्युतीय सवारीमा कर बढाएको सरकारले बढी क्षमताका विद्युतीय सवारीमा भने कर घटाएको हो। आर्थिक ऐनमार्फत ५० किलोवाटसम्मको मोटर क्षमता भएका सवारीमा १० प्रतिशत भन्सार लगाइएको छ। यसमा अन्तःशुल्क लगाइएको छैन।&

यसैगरी ५० देखि १०० किलोवाटसम्मका विद्युतीय सवारीमा ५ प्रतिशत भन्सार बढाएर १५ प्रतिशत पु¥याइएको छ। यसमा यसअघि अन्तःशुल्क लगाइएको थिएन। अहिले १० प्रतिशत अन्तःशुल्क लगाइएको छ। एकसय किलोवाटदेखि दुईसय किलोवाटसम्म विद्युतीय मोटर जडित कारमा यसअघि ३० प्रतिशत रहेको भन्सार दरलाई घटाएर २० प्रतिशत कायम गरिएको छ। त्यस्तै सोही मोटर क्षमता भएको विद्युतीय कारमा ३० प्रतिशत नै रहेको अन्तःशुल्क २० प्रतिशतमा सीमित गरिएको छ।

२ सयदेखि ३ सय किलोवाटसम्म मोटर क्षमता भएको विद्युतीय सवारीमा भन्सार ४५ बाट घटाएर ४० प्रतिशत कायम गरिएको छ। यसमा अन्तःशुल्क ४५ प्रतिशत नै यथावत राखिएको छ। ३ सय किलोवाटभन्दा माथिका विद्युतीय सवारीमा भन्सार र अन्तःशुल्क दुवै ६० प्रतिशत नै यथावत राखिएको छ।


तयारी वस्तुमा भन्दा कच्चा वस्तुको आयातमा एक तह कम भन्सार लाग्ने

सरकारले तयारी वस्तुको तुलनामा कच्चा पदार्थ आयातमा लाग्ने भन्सारको दर घटाएको छ। आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा प्रकाशशरण महतले उद्योगले पैठारी गर्ने औद्योगिक कच्चा पदार्थको भन्सार कर तयारी वस्तुको भन्दा कम्तीमा एक तह कम हुने भन्सार दर कायम गरिएको बताए।

मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भई वार्षिक एक करोडसम्मको कारोबार गर्ने करदाताले हाल हरेक महिना कर र सोको विवरण पेस गर्ने व्यवस्था रहेकामा अब चार–चार महिनामा पेस गर्ने व्यवस्था गरिएको छ।

वार्षिक २५ करोडभन्दा बढीको कारोबार गर्ने करदातालाई केन्द्रीय बीजक प्रणालीमा आबद्ध गर्ने व्यवस्था बजेटमा राखिएको छ। आर्थिक कारोबारका सूचनालाई एकीकृत गरी उपयोग गर्न निकायगत सूचना प्रणालीबीच अन्तर आबद्धता कायम गरी स्वचालित बनाइने बजेट वक्तव्यमा उल्लेख छ।


चिनीको भन्सार घट्यो, सुकमेलको बढ्यो 

सरकारले चिनीको भन्सार महसुल घटाएको छ। ४० प्रतिशत रहेको चीनीको भन्सार महसुल घटाएर ३० प्रतिशतमा सीमित पारिएको छ। त्यस्तै आर्थिक विधेयकमा सुकमेल लगायतका मसलाजन्य वस्तुको भन्सार महसुल दर बढाइएको छ। सुकमेलको भन्सार महसुल दर १० प्रतिशतबाट २० बनाइएको छ। त्यस्तै अन्य मसलाजन्य वस्तुको भन्सार महसुल पनि बढेको छ। यसैगरी उखु जन्य बस्तुबाट बनेको बस्तुको भन्सार ४० बाट ३०प्रतिशतमा झारिएको छ। यसैगरी साबुदानाको भन्सार ५ प्रतिशतबाट बढाएर १० प्रतिशत बनाइएको छ।


आयातित मदिरा, लक्जरी होटलको सेवा र बहुमूल्य गहनामा विलासी शुल्क लाग्ने

सरकारले विलासी शुल्क लगाउने भएको छ। विभिन्न वस्तु तथा सेवाको खरिदमा २ प्रतिशत विलासी शुल्क लगाउने व्यवस्था गरेको छ। आजै संसदमा दर्ता भएको आर्थिक विधेयकमा पाँचतारे वा सोभन्दा माथिका तारे होटलको सेवा, आयातित मदिरा र दश लाख रुपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गहनामा यस्तो शुल्क लाग्नेछ। होटल तथा रिसोर्टले सेवा बिक्री गर्दा यस्तो शुल्क उठाउनुपर्नेछ, आयातित मदिराको हकमा भन्सार बिन्दुमा उठ्नेछ। गहनका बिक्रेताले बिक्रिको बखत उठाउनुपर्नेछ।


विदेश घुम्न जाने नेपालीले पर्यटन शुल्क तिर्नुपर्ने

नेपालबाट भ्रमणका लागि विदेश जाने नेपालीले ५ प्रतिशत शुल्क तिर्नुपर्ने भएको छ।विदेश जाने नेपालीबाट सरकारले ५ प्रतिशत शुल्क उठाउने व्यवस्था गरेको छ। आजै संसदमा दर्ता भएको आर्थिक विधेयकमा यस्तो व्यवस्था गरिएको छ।

&

भाडाका सवारी साधनमा आयकर बढ्यो

सरकारले भाडाका सवारी साधन दर्ता र नवीकरण गर्दा तिर्नुपर्ने आयकर बढाएको छ। कार, जिप, भ्यान, माइक्रोबसमा १३०० सीसीसम्म ४ हजार आयकर लाग्नेमा अब ५ हजार ५०० लाग्ने भएको छ। यस्तै १३०१ देखि २००० सीसीसम्म ४ हजार ५ सय  रहेको आयकर अब ६ हजार पुगेको छ। २ हजार १ सीसीदेखि २९०० सीसीसम्मसवारी दर्ता नवीकरण गर्दा ५ हजार लाग्ने आयकर बढेर ६ हजार ५ सय रुपैयाँ बनाइएको छ।

२९०१ सीसीदेखि ४ हजार सीसीसम्मको सवारी दर्ता वा नवीकरण गर्दा लाग्ने आयकर ६ हजारबाट बढेर ८ हजार भएको छ। यसैगी ४ हजार सीसी भन्दा माथिकोमा दर्ता नवीकरण गर्दा लाग्ने आयकर ७ हजारबाट बढेर ९ हजार,मिनी बस, मिनी ट्रक र पानी ट्यांकर सवारी दर्ता तथा नवीकरण गर्दा लिने आयकर ६ हजारबाट बढेर ८ हजार मिनी टिपरको७ हजारबाट ९ हजार, बसको ८ हजारबाट १० हजार ५ सय, डोजर, एक्साभेटर, लोडर, रोलर, क्रेनको १२ हजारबाट १५ हजार ५ सय, तेल ट्यांकर ग्यास बुलेट, टिपरको १२ हजारबाट १५ हजार ५ सय, ट्याक्टरको २ हजारबाट २ हजार ५ सय, पावर टिलरको १ हजार ५ सय बाट २ हजार, अटो रिक्सा, थ्री ह्वीलर र टेम्पोको २ हजारबाट २ हजार ५ सय रुपैयाँ बनाएको छ। यसैगरी विद्युतीय सवारी साधनको हकमा ५० किलोवाटसम्मको विद्युतिय सवारी साधनमा ३ हजार, ५० देखि १२५ किलोवाटसम्म ४ हजार, १२५ देखि २०० किलोवाटसम्म ६ हजार र २०० किलोवाटमाथि ७ हजार ५ सय रुपैयाँ आयकर सीमा तोकेको हो ।


चुरोट/सुर्तीमा बढ्यो कर

सरकारले आगामी बजेट मार्फत चुरोट तथा सुर्तीमा कर बढाएको छ। फिल्टर नभएको चुरोट प्रति एम ७१० रुपैयाँबाट बढाए ७३०,७० मिमि प्रति एम १ हजार ६ सय ३५ रुपैयाँबाट बढाएर १ हजार ६ सय ९० रुपैयाँ र ७० मिमिभन्दा बढी ७५ मिमिसम्मको प्रतिएम २ हजार २ सय २५ बाट बढाएर २ हजार ३ सय रुपैयाँ बनाइएको छ।

यसैगरी ७५ भन्दा बढी ८५ सम्म्को प्रतिएमएम २८ सय ८० बाट बढेर २९ सय ७० र ८५ मिमि भन्दा बढी लम्बाइको प्रतिएम ३९ सय बाट ६५ बाट ४ हजार ८० रुपैयाँ बनाइएको छ।

यसैगरी समरुपी वा पुनर्निर्मित सुर्ती प्रतिकिलो ८ सय २१ रुपैयाँबाट ८ सय ५० रुपैयाँ, जर्दा खैनी, सुर्ती किलो ८ रुपैयाँबाठ २१ बाट ८ सय ५० रुपैयाँ नै र धुलो सुर्ती,सुर्ती भएको वा पुनर्निर्मित सुर्ती र  निकोटिन भएको सुर्ती प्रतिकिलो ४ सय ६० रुपैयाँबाट बढाएर ४ सय ७५ रुपैयाँ बनाइएको छ।


मदिरा आयातमा २ प्रतिशत ’लक्जरी’ कर सहित अन्तशुल्क पनि बढ्यो

सरकारले आर्थिक वर्ष २०८०÷८१ मार्फत मदिरा आयातमा २ प्रतिशत लक्जरी कर लगाएको छ। बजेटले विदेशबाट आयात भएर आउने मदिरामा लक्जरी कर लगाएको हो। आयातित मदिरामा लाग्दै आएको १ हजार ३ सय अन्तःशुल्कमा ५० रुपैयाँ बढाएर १ हजार ३ सय ५० रुपैया बनाएको छ। यसैगरी बियरमा लग्दै आएको अन्तशुल्कमा पनि प्रतिलिटर ७ रुपैयाँ बढाइएको छ। यस अघि २२८ रुपैयाँ प्रतिलिटर रहेको अन्तशुल्क अब बढेर २ सय ३५ रुपैयाँ बनाइएको छ।


तेलमा बढ्यो कर

बजेटमार्फत १ प्रतिशत भन्सार लाग्दै आएको तोरीको दानाको भन्सार ५ प्रतिशत पु¥याएको छ। त्यसैगरी, १ प्रतिशत भन्सारमा आयात भइरहेको सोयाविन, सनफ्लावर र पाम आयलको भन्सार पनि १० प्रतिशत बनाइएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद