Media Network

बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्था दोब्बरले बढेपछि खुद नाफा १६ प्रतिशतले घट्यो


खबरस्टोरी संवाददाता

२९ पुष २०८०,आईतवार

काठमाण्डौं ।चालु आर्थिक वर्षको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाको खुद नाफा करिब ६ अर्बले घटेको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्था बापतको रकम दोब्बर भन्दा धेरैले बढेपछि नाफामा गिरावट आएको हो ।

चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा बैंक तथा वित्तीय संस्थाले ३० अर्ब ९१ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेका छन् । बैंक÷वित्तीय संस्थाको यो खुद नाफा गत आवको सोही अवधिको तुलनामा १५.८८ प्रतिशतले थोरै हो । आर्थिक वर्ष २०७९÷८० को मंसिरसम्ममा बैंक तथा वित्तीय संस्थाले ३६ अर्ब ७५ करोड २० लाख रुपैयाँ खुद नाफा गरेका थिए ।

कोरोनाको असरबाट बाहिर नआउदै अर्थतन्त्रमा आएको मन्दीले ऋणीको कर्जा तिर्ने क्षमता कमजोर बनायो । त्यसको असर बैंक वित्तीय संस्थाको नाफामा पर्न गएको हो । समग्र ब्यापार ब्यवसाय प्रभावित भएपछि बैंकका ऋणीको आम्दानी घट्न थाल्यो । ऋणीको आम्दानीमा गिरावट आएसंगै कर्जा तिर्न पनि समस्या हुन थाल्यो । ऋणीले कर्जा तिर्न नसक्दा कर्जा ‘डिफल्ट’ बढ्न थाल्यो । कर्जा समयमा उठ्ने समस्या बढेपछि बैंकहरुले कर्जामा हुनसक्ने जोखिम न्यूनीकरणका लागि प्रोभिजनिङ गर्नु पर्दा नाफामा असर गरेको हो ।

चालु आर्थिक वर्षको मंसिरसम्ममा बैंक तथा वित्तीय संस्थाले जोखिम व्यवस्था बापत ३३ अर्ब ८९ करोड रुपैयाँ छुट्याएका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा दोब्बर भन्दा धेरै हो । गत आवको मंसिरसम्ममा बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्था बापतको रकम १६ अर्ब ४ करोड रुपैयाँ मात्र थियो ।

चालु आर्थिक वर्ष सुरु भएसंगै बैंकहरुले कर्जा लगानी भन्दा पनि असुलीलाई प्राथमिकतामा राखेपछि जोखिम व्यवस्था बापतको रकम फिर्ता हुने क्रम बढेको हो ।

त्यसैगरी चालु आवको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्था वापतको फिर्ता रकम भने बढेको छ । चालु आर्थिक वर्षको मंसिसम्ममा बैंक वित्तीय संस्थाले १४ अर्ब ३९ करोड रुपैयाँ जोखिम व्यवस्थाबाट फिर्ता गरेका छन । यो रकम गत आवको सोही अवधिको तुलनामा साढे ३ गुणले धेरै हो । गत आवको सोही अवधिमा बैंक वित्तीय संस्थाले उक्त शिर्षकमा ४ अर्ब ५७ करोड रुपैयाँ मात्र फिर्ता लिएका थिए ।

तर, चालु आर्थिक वर्षको कात्तिको तुलनामा बैंक तथा वित्तीय संस्थाको नाफा मंसिरमा बढेको छ । कात्तिकमा बैंक तथा वित्तीय संस्थाको खुद नाफा ७ अर्ब ७५ करोड ९० लाख रुपैयाँ रहेको थियो भने मंसिमा ८ अर्ब २९ करोड खुद नाफा गरेका छन् ।

चालु आवको मंसिरसम्म वाणिज्य बैंकहरुको खुद नाफा २८ अर्ब ३६ करोड ८० लाख रुपैयाँ रहेको छ । गत कात्तिकमा बैंकहरुको नाफा २० अर्ब ७३ करोड रुपैयाँ बराबरको थियो । गत आवको मंसिरसम्ममा बैंकहरुले ३३ अर्ब ८७ करोड करोड रुपैयाँ खुद नाफा थियो ।

त्यसैगरी चालु आवको मंसिरसम्ममा विकास बैंकहरुले २ अर्ब २६ करोड २० लाख रुपैयाँ खुद नाफा गरेका छन । विकास बैंकहरुले चालु आवकै कात्तिकसम्ममा एक अर्ब ६२ करोड ९० लाख रुपैयाँ नाफा गरेका थिए । गत आर्थिक वर्षको मंसिरसम्ममा विकास बैंकहरुको खुद नाफा २ अर्ब ४२ करोड रुपैयाँ थियो ।

चालु आवको मंसिरसम्ममा फाइनान्स कम्पनीले २८ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेका छन् । फाइनान्स कम्पनीले कात्तिकसम्ममा २६ करोड २० लाख रुपैयाँ खुद नाफा गरेका थिए । गत आवको मंसिसम्ममा फाइनान्स कम्पनीहरुको खुद नाफा ४५ करोड २० लाख रुपैयाँ खुद नाफा गरेका थिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद