Media Network

हिमालयन रि इन्स्योरेन्सको आईपीओ अधिकतम १८० कित्तासम्म बाँडफाँड


खबरस्टोरी संवाददाता

२४ मंसिर २०८०,आईतवार

काठमाडौँ।हिमालयन रि इन्स्योरेन्स लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतम १८० कित्तासम्म सेयर प्राप्त गरेका छन् ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज भएको सेयर बाँडफाँडमा १७० कित्तासम्म सेयर माग गर्नेले माग बमोजिम र सोभन्दा बढी (१८० कित्ता देखि १९ हजार ५०० कित्तासम्म) सेयर माग गर्ने ६ हजार ९३४ जना आवेदकमध्येबाट गोलाप्रथाबाट २ हजार ६५१ जनाले थप १० कित्ता गरी १८० कित्ता सेयर हात पारेका हुन् । यसअनुसार २ हजार ६५१ जनाले अधिकतम १८० कित्ताका दरले सेयर प्राप्त गरे भने १७० कित्तासम्म माग गर्नेले माग अनुसारको सेयर हात पारेका हुन् ।

हिमालयन रिले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई ३० लाख कित्ता सेयर १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँ दरमा मङ्सिर ४ देखि २० गतेसम्म आईपीओ जारी गरेको थियो ।  बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आईपीओमा कुल ३२ हजार ६४ वटा आवेदनबाट ४३ लाख ३९ हजार १७० कित्ताको माग परेको थियो । सोमध्ये ८ जनाबाट माग भएको ५२० कित्ताको आवेदन रद्द भएको छ । योग्य ठहरिएका ३२ हजार ५६ जना आवेदनबाट प्राप्त ४३ लाख ३८ हजार ६५० कित्ताको मागलाई बाँडफाँड प्रकृयामा सहभागि गराइएको थियो । जसमा लगानीकर्तालाई न्यूनतम १० देखि अधिकतम १८० कित्तासम्म सेयर बाँडफाँड गरिएको छ ।

कम्पनीले जारी गरेको सेयर खरिदका लागि परेको आवेदन संख्या र बिक्री खुला भएको सेयर सङ्ख्याका आधारमा औसतमा ९३.५६ कित्ता हुने देखिएपनि धेरै आवेदकले न्यून संख्यामा सेयर माग गरेकाले अधिकतम १८० कित्तासम्म सेयर प्राप्त गर्ने अवस्था बनेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था थियो ।

यस्तै म्युचुअल फन्डका लागि छुट्टाइएको १५ लाख कित्ता सेयर पनि १४ वटा म्युचुअल फन्डलाई बाँडफाँड गरिएको छ ।

हिमालयन रि–इन्स्योरेन्स निजी क्षेत्रको लगानीमा स्थापित पुनर्बीमा कम्पनी हो । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर जारी गर्न अनुमति पाएको थियो । सोमध्ये पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ३० लाख कित्ता बिक्री खुला गरेको हो । यस्तै कम्पनीले कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता, सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता सेयर छुट्याएको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद