Media Network

हिमालयन रि इन्स्योरेन्सको आईपीओ डिम्याट खातामा


खबरस्टोरी संवाददाता

१८ पुष २०८०,बुधबार

काठमाडौँ।हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ सेयर प्राप्त गरेका सम्बन्धित सेयरधनीको खातामा जम्मा भएको छ । सीडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले कम्पनीको आईपीओ पुस १७ गते मंगलबार जम्मा गरेको हो ।
हिमालयन रिको आईपीओ पुस ११ गते बुधबार बाँडफाँड भएको थियो । बाँडफाँडको ६ दिनमा नै कम्पनीको धितोपत्र सम्बन्धित सेयरधनीको खातामा जम्मा भएको हो । हिमालयन रि इन्स्योरेन्सको आईपीओ एचआरएल (HRL) कारोबार संकेतमा जम्मा भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले द्रुत गतिमा कम्पनीको सेयर सूचीकरण गराएको हो ।
कम्पनीको आईपीओ १५ लाख ६४ हजार ५६४ जना लगानीकर्ताले हात पारेका छन् । कम्पनीको आईपीओमा कुल १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएका थिए । सोमध्ये ८ हजार ६५५ आवेदन रद्द भएको थियो । बाँडफाँडमा ३० कित्तासम्म आवेदन दिनेले मागेजति नै सेयर हात पारेका थिए भने ४० कित्तादेखि ३४ हजार ५० कित्ता माग गर्ने लगानीकर्तामध्ये २९ हजार २१ जनाले थप १० कित्ता गरी अधिकतम ४० कित्तासम्म हात पारेका थिए ।
सीडिएससीमा सेयर सूचीकरणपछि सम्बन्धित डिम्याट खातामा जम्मा भएको उक्त सेयर नेप्सेमा सुचीकृत भएको दोस्रो कारोबार दिनदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्नेछ ।

कम्पनीले आईपीओ निष्कासन गर्दा प्रकाशित गरेको परिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ७ पैसा रहेको छ । नेप्सेले सम्बन्धीत कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थलाई आधार मानेर त्यसको तीन गुणासम्म कारोबार रेञ्ज तोक्ने गरेको छ। यसअनुसार हिमालयन रि को धितोपत्र दोस्रो बजारमा पहिलो कारोबार न्यूनतम १०३ रुपैयाँ ७ पैसादेखि अधिकतम ३०९ रुपैयाँ २१ पैसासम्मको बीचमा हुनेछ ।
कम्पनीले मंसिर २७ गतेदेखि पुस १ गतेसम्म प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता शेयर निष्काशन गरेको थियो। रेटिङ एजेन्सी इक्रा नेपालले यो आईपीओलाई ‘इक्रा एनपी आइआर ए’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद