Media Network

खाद्यका २ हजार खसी, बोका र १ हजार च्याङ्ग्रा आज काठमाडौं आइपुग्ने


खबरस्टोरी संवाददाता

२९ आश्विन २०८०,सोमबार

काठमाडौ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले देशका विभिन्न ठाउँबाट दसैंका लागि सहुलियत मूल्यमा बिक्री गर्न संकलन गरेको खसिबोका र च्यांग्रा आजदेखि काठमाडौं भित्रिने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपालिको दसैंमा २ हजार खसी, बोका र १ हजार च्यांग्रा खरिद गरी काठमाडांै ल्याएर बिक्री गर्ने लक्ष्य राखेको छ ।खाद्य कम्पनीले सोमबार साँझसम्म विभिन्न ठाउँबाट संकलन गरी काठमाडौं ल्याइएका खसीबोका र च्यांग्राको मूल्य निर्धारण गर्नेछ ।

हाल दाङ र वीरगन्ज संकलन केन्द्रमा विभिन्न ठाउँबाट खरिद गरिएका स्थानीय खसी, बोका र रसुवाबाट खरिद गरिएका च्यांग्रा सोमबार बिहानदेखि धमाधम काठमाडौं भित्रिन थाल्ने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी गराइन् ।

यस वर्ष दाङ र वीरगन्जबाट २ हजारवटा खसीबोका र रसुवाबाट च्यांग्रा खरिद गरेर ल्याइँदै छ । दाङको तुलसीपुरबाट खरिद गरिएको खसीबोका सोमबार बिहानसम्म काठमाडौं आइपुग्ने सुवेदीले बताइन् ।यस वर्ष रसुवाबाट सहकारीमार्फत खाद्य कम्पनीले १ हजार च्यांग्रा खरिद गर्दै छ । जिल्लास्थित सहकारीले संकलन गरिएका च्यांग्रा काठमाडौं पठाउने तयारी भएको कम्पनीले जनाएको छ ।

विभिन्न स्थानबाट खरिद गरी काठमाडौं ल्याइएका खसीबोका र च्यांग्रा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बागमती प्रदेशिक कार्यालय थापाथलीबाट बिक्री गरिनेछ ।गत ९ असोजमा नै सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट खरिद गरेर सर्वसाधारणलाई सहुलियत दरमा बिक्री गरिने खसी, बोका र च्यांग्रामा बाहिर बजारको भन्दा प्रतिकेजी न्यूनतम १० रुपैयाँ छुट दिने घोषणा गरेको थियो ।

गत वर्ष कूल एक हजार ६२५ खसी, बोका र च्याङ्ग्रा खरिद–बिक्री गरेको कम्पनीले २ करोड २६ लाख रुपियाँ खर्च गरेको थियो । प्रतिकेजी ६८० ९जिउँदो० खसी–बोका र एक हजार २५० प्रतिकेजी च्याङ्ग्रा बेचेको थियो । त्यसबापत कम्पनीलाई ५ लाखभन्दा बढी फाइदा भएको थियो । २ हजार वटा खसी, बोका र एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले यसवर्ष ८ करोड ३६ लाख रुपियाँ बजेट छुट्याएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद