Media Network

मेचीनगरको सडक निर्माणमा विश्व बैंकले एक अर्ब ३ करोड लगानी गर्ने


खबरस्टोरी संवाददाता

२२ पुष २०८०,आईतवार

काठमाडौँ।विश्व बैंकको सहयोगमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ अन्तर्गत मेचीनगरको सहिदमार्ग र सूर्योदय मार्गमा १४ किलोमिटर कालोपत्र सडक निर्माण हुने भएको छ ।
नगरको दुई महत्त्वपूर्ण सहरी क्षेत्र धुलाबारी र काँकडभिट्टाको विकासमा सहयोग पुग्ने उक्त सडक निर्माणमा विश्व बैंकको एक अर्ब तीन करोड रुपैयाँ ऋण लगानी हुने प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले बताए ।
सात प्रदेशका ३३ वटा स्थानीय तहमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ सञ्चालन गर्ने नेपाल सरकारले निर्णय गरिसकेको छ । उक्त आयोजनामा नेपाल सरकारलाई विश्व बैंकले एक अर्ब ५० करोड अमेरिकी डलर (करिब दुई खर्ब) सहुलियत ऋण उपलब्ध गराउने सम्झौता भएको थियो ।
उक्त परियोजनाअन्तर्गत झापा निर्वाचन क्षेत्र नं १ को मेचीनगरमा दुईवटा सडक कालोपत्र गर्न विश्व बैंकले ७८ लाख अमेरिकी डलर (रु एक अर्ब बढी) ऋण उपलब्ध गराएको नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य शर्माले बताए ।
शर्माका अनुसार सहिदमार्गअन्तर्गत धुलाबारी मोडबाट बजार क्षेत्र हुँदै खुट्टीडाँगीको थोप्लेबिरान सामुदायिक वनको कार्यालयसम्म पाँच दशमलव तीन किलोमिटर कालोपत्र निर्माण हुनेछ । उक्त सडकको चौडाइ १२ मिटर, ड्रेन र डबल लेन रहने उनले जानकारी दिए ।
यसैगरी सूर्योदय मार्गअन्तर्गत पूर्वीनाकाको काँकडभिट्टास्थित भट्टराई चोकबाट सुरु भएर बाहुनडाँगी बजारसम्मको आठ दशमलव पाँच किलोमिटर लामो सडक कालोपत्र, डबल लेन र ११ मिटर चौडाइको रहने शर्माले बताए । सङ्घीय सरकारको निर्णय र स्थानीय तहको नेतृत्वमा ती सडक निर्माण हुने भएका छन् । विश्व बैंकसँगको सम्झौतामा ती दुवै सडक २०८२ असार ३१ गतेसम्ममा निर्माण सम्पन्न भइसक्नुपर्ने उल्लेख छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद