Media Network

निक्षेप संकलन उपकरण मार्फत २० दिनमा ५५ अर्ब तरलता प्रशोचन, बुधबार १० अर्ब उठाइँदै


खबरस्टोरी संवाददाता

२० मंसिर २०८०,बुधबार

काठमाडौँ।बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बुधबार निक्षेप संकलन उपकरण जारी गरेर १० अर्ब रुपैयाँ उठाउने भएको छ । गत बिहीबार निक्षेप संकलन मार्फत १५ अर्ब प्रशोचन गरेको केन्द्रीय बैंकले एक सातापछि पनि तरलता नघटेपछि पुनः एक साताका लागि ‘डिपोजिट कलेक्सन’ उपकरण मार्फत रकम प्रशोचन गर्न लागेको हो ।

वित्तीय प्रणालीमा रहेको अधिक तरलता खिच्न बुधबार सहित मङ्सिर महीनाको २० दिनमा निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले ५५ अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गर्न लागेको हो । यसअघि प्रणालीबाट नै ४५ अर्ब प्रशोधन भैसकेको छ । ब्याजदर करिडोरको तल्लो सीमा अर्थात निक्षेप संकलन दर भन्दा तल अन्तर बैंक दर झरेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरेको हो । केन्द्रीय बैंकका अनुसार आइतबारसम्म बैंकहरुको औसत अन्तर बैंक दर १.०८ प्रतिशत कायम भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले ब्याजदर करिडोरको तल्लो सीमा ४.५ प्रतिशत कायम गरेको थियो ।

बजारको तरलता, डिपोजिट रेट तथा समग्र प्रणालीको अवस्थालाई विश्लेषण गरेर केन्द्रीय बैंकको खुला बजार सञ्चालन समितिले बुधबार १० अर्बको निक्षेप संकलन उपकरण जारी गरेको हो । यस वित्तीय औजारमा लगानी गर्ने संस्थाले एक सातापछि सावाँ तथा ब्याज भुक्तानी पाउनेछन् । ब्याजदर भने बोलकबोल माध्यमवाट निर्धारण हुनेछ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलकबोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ । खुला बजार कारोबार संचालन समितिले कट अफ रेट निर्धारण गर्न सक्नेछ ।

केन्द्रीय बैंकले यसअघि मंङ्सिर १७ गते आइतबार निक्षेप संकलन उपकरण जारी गरेर १० अर्ब तथा १४ गते बिहीबार १५ अर्ब रुपैयाँ प्रणालीमा खिचेको थियो । आइतबारको निक्षेप संकलनका लागि ९ सहभागि बैंक तथा वित्तीय संस्थाले ४१ वटा बोल आवेदन मार्फत २५ अर्बको माग गरेका थिए । अधिक मागका कारण औसत रेट पनि १ प्रतिशत भन्दा तल अर्थात ०.९८८६ प्रतिशत कायम भएको थियो । १४ गतेको बोलकबोलमा पनि ९ सहभागि बैंक तथा वित्तीय संस्थाले १२ वटा बोल आवेदन मार्फत ५१ अर्बको माग गरेका थिए । उक्त समयमा औसत रेट १.०४९८ कायम भएको थियो ।

केन्द्रीय बैंकका अनुसार हाल वित्तीय प्रणालीको कुल निक्षेप ५९ अर्ब ६२ अर्ब रहेको छ । कर्जा लगानी ४९ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी बैंकिङ प्रणालीको औसत कर्जा निक्षेप अनुपात ८०.७६ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार मंगलबारसम्ममा वित्तीय प्रणालीमा ९४ अर्ब बढी अधिक तरलता रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद