Media Network

नेपालको आर्थिक वृद्धि आगामी वर्ष ५ प्रतिशत हुने


खबरस्टोरी संवाददाता

२५ पुष २०८०,बुधबार

काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धि आगामी वर्ष ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘विश्वव्यापी आर्थिक सम्भावना’ प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१÷८२ मा नेपालले ५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने अनुमान गरिएको हो ।
चालु आर्थिक वर्षमा भने ३.९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान विश्व बैंकले यसअघि नै गरिसकेको छ । गत वर्ष नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशतमा सीमित भएको थियो ।
सन् २०२४ मा विश्वव्यापी आर्थिक वृद्धि घट्ने विश्व बैंकको प्रक्षेपण छ । सन् २०२३ मा २.६ प्रतिशत रहेको विश्वव्यापी आर्थिक वृद्धि सन् २०२४ मा २.४ प्रतिशत रहने देखिएको हो । त्यस्तै विकासोन्मुख देशहरुको आर्थिक वृद्धि ३.९ प्रतिशत रहने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको भन्दा १ प्रतिशत कम हो ।
अतिकम विकसित मुलुकहरुको आर्थिक वृद्धि पनि थप कमजोर हुने देखिएको छ । विश्व बैंकको प्रक्षेपणअनुसार अतिकम विकसित मुलुकहरुको आर्थिक वृद्धि ५.५ प्रतिशतमा झर्नेछ ।
सन् २०२४ को अन्त्यमा चारवटा विकासोन्मुख देशमध्ये एउटा र अतिकम विकसित मुलुकका ४० प्रतिशत मानिस गरिबीको रेखामुनि रहनेछन् । यो सन् २०१९ को कोभिड–१९ अघिकै अवस्था हो ।
विकसित देशहरुको आर्थिक वृद्धि पनि सन् २०२३ को १.५ प्रतिशतबाट १.२ प्रतिशतमा झर्ने विश्व बैंकको अनुमान छ ।
प्रतिवेदनमा विश्वको आर्थिक विकासका लागि परिवर्तनकारी दशक बन्ने अपेक्षा गरिएको ३० को दशकको पहिलो चार वर्ष विगत ३० वर्षकै तुलनामा कमजोर देखिएको उल्लेख छ । विश्वव्यापी अर्थतन्त्र सन् २०२४ मा निकै कमजोर बन्ने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद