Media Network

राष्ट्र बैंकले एक अर्ब ३६ करोड रकम मुद्दती निक्षेपमा राख्ने


खबरस्टोरी संवाददाता

१८ मंसिर २०८०,सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको एक अर्ब ३६ करोड ८० लाख रुपैयाँ रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत अवकाश कोष अन्तर्गत रहेको कर्मचारी सुरक्षण कोषको रकम मुद्दती निक्षेपमा राख्न लागेको जानकारी दिएको हो ।  

केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको हो । सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ९ करोड ४४ लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा २० करोड ५२ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ६ करोड ८४ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा राख्न लागेको हो ।    

आफूले मुद्दती निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन आग्रह गरिएको छ । यहि पुस १ गतेदेखि २०८१ को पुस १ गतेसम्म तीन सय ६६ दिन उक्त रकम मुद्दती निक्षेपमा राखिनेछ ।    

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष अनुपात कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको पाँच प्रतिशत भन्दा कम रहेको र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्नेछ । कर्जा, निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेर सर्त पूरा गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।   

Share:
Reaction :
ताजा समाचार
खेलकुद