Media Network

राष्ट्रिय व्यवसायिक पहलको कार्यसमिति निर्वाचन सम्पन्न


खबरस्टोरी संवाददाता

४ आश्विन २०७९,मंगलवार

काठमाडौं।राष्ट्रिय व्यवसायिक पहल (एनबिआई) को अध्यक्ष पदमा कुशकुमार जोशी पुनः निर्वाचित हुनुभएको छ । असोज २ गते मकवानपुरको हेटौंडामा सम्पन्न भएको पहलको सोह्रौं वार्षिक साधारण सभाबाट अध्यक्ष जोशीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । 

नवनिर्वाचित कार्य समितिमा उपाध्यक्ष, शुकुन्तलाल हिराचन,  महासचिव, सुरेन्द्रवीर मालाकार, कोषाध्यक्ष, दिपक मलहोत्रा, सचिव सरोज प्रसाद पाण्डे र सुरेश प्रधान, तथा सह–कोषाध्यक्ष विनायक शाह चयन भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरुमा उमेश लाल श्रेष्ठ, लता प्याकुरेल, शिव प्रसाद घिमिरे, अशोक वैध, राजेश खड्का, रविन्द्र मान सिंह प्रधान, अरनिको राजभण्डारी, मुकेश कुमार भट्टराई, रमेश शर्मा, राजेश बाबु श्रेष्ठ, डा. वविन पोखरेल खेम लकाई, होमनाथ उपाध्याय, सनम शाक्य निर्वाचित भएका छन् । मनोनित कार्यसमिति सदस्यमा सुधिर मित्तल र डा. राजेन्द्र घिसिङ्ग र  संस्थागत पदेन सदस्यमा नानी राज घिमिरे रहेका छन् । 

नवनिर्वाचित अध्यक्षले मन्तव्य राख्दै अघिल्लो कार्यकाल सबै सदस्यको साथ र सहयोगले सफल रहेकोमा धन्यवाद ज्ञापन गरे । उनले कोभिड १९ लगायतका विभिन्न जटिल परिस्थितिसँग जुझ्दै भए पनि संस्थाले व्यवसायिक वातावरणमा देखिएका समस्या, जिम्मेवार व्यवसायिक अभ्यासको प्रर्वधन विपद् जोखिम न्यूनीकरणमा निजी क्षेत्रको संलग्नता र सक्रियताकालाई अझ मजबूत बनाउनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको बताए । हरेक दुई वर्षमा गरिँदै आएको जिम्मेवार व्यवसाय सम्मेलनलाई गत वर्ष आयोजना गर्न नसकिएकोमा खेद प्रकट गर्दै आगामी वर्ष प्राथमिकता साथ आयोजना गर्ने योजना रहेको अवगत गराए । 

साथै विपद् जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय संस्था एशिया प्यासेफिक एलायन्स फर डिजास्टर म्यानेजमेन्ट सँगको सहकार्यलाई आगामी तीन वर्षको लागि निरन्तरता दिइ विपद्को पूर्वतयारी तथा जोखिम न्यूनीकरणका कार्यक्रमहरु आयोजना गरिने जानकारी दिए । 

कार्यक्रममा गत वर्ष गरिएका क्रियाकलाप तथा उपलब्धी सहितको वार्षिक प्रतिवेदन पेश गर्दै सं महासचिव मालाकारले पहलले नियमित रूपमा आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय स्तरको जिम्मेवार व्यवसाय सम्मेलनको चौंथो संस्करण आगामी सन् २०२३ को फरवरीमा गर्ने गरी तयारी अगाडि बढाइएको जानकारी दिए । कोषाध्यक्ष मलहोत्राले गत वर्षको आर्थिक प्रतिवेदन पेश गरे पश्चात उपस्थित साधारण सभाका सदस्यले दुवै प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरे । संस्थापक अध्यक्ष पद्म ज्योतिको नेतृत्वमा गठित सल्लाहकार समितिमा संस्थापक सदस्य तथा हालका राज्यमन्त्री माननीय उमेश श्रेष्ठ र गोपी न्यौपाने रहेकाछन् । नव निर्वाचित कार्यसमितिले छिट्टै एउटा पत्रकार सम्मेलन गरी आफ्ना भावी योजना साझा गर्ने निर्णयसँगै कार्यक्रमको समापन गरिएको थियो । 

शान्ति स्थापना, दिगो सामाजिक आर्थिक विकास र सामाजिक उत्तरदायित्व प्रर्वधनमा विगत डेढ दशकदेखि क्रियाशील यस राष्ट्रिय व्यवसायिक पहलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी महासंघ नेपाल लगायतका प्रतिष्ठित संघसंस्थाहरू आबद्ध छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद