Media Network

सुनचाँदी धितोमा पौने ५२ अर्ब कर्जा प्रवाह


खबरस्टोरी संवाददाता

३ माघ २०८०,बुधबार

काठमाडौँ।नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाले मङ्सिर मसान्तसम्ममा सुनचाँदी धितोमा ५१ अर्ब ७६ करोड ९४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत कार्तिकसम्म ५१ अर्ब ३९ करोड ८० लाख रूपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले मङ्सिरमा मात्रै ३७ करोडले कर्जा बढाएका हुन् ।
पछिल्ला दिनहरुमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरिरहँदा बैंक तथा वित्तीय संस्थाहरूले पनि सुनचाँदी धितोमा कर्जा प्रवाह बढाएका हुन् । घरजग्गाजस्तै सुनचाँदी पनि सबैभन्दा सुरक्षित घितोको रूपमा लिइने भएकाले पछिल्लो समय सुनचाँदी धितोमा प्रवाह हुने कर्जा बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ २ गते मंगलबार नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख १९ हजार ४०० रूपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन प्रतितोला १ लाख १८ हजार ८५० रूपैयाँमा कारोबार भएको छ । चाँदी भने प्रतितोला १ हजार ४१५ रूपैयाँमा कारोबार भएको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले २०७९ मङ्सिर मसान्तसम्ममा सुनचाँदी धितोमा ५१ अर्ब ९ करोड १९ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । यो कर्जा गतवर्षको सोही अवधिको तुलना (वार्षिक बिन्दुगत रुपमा) मा ७९ करोड ५० लाख रूपैयाँले बढी हो ।
सुन आयातको अवस्था सुन धितोमा प्रवाह हुने कर्जा बढेसँगै आयात पनि बढेको छ । भन्सार विभागका अनुसार मङ्सिर महिनासम्म ९ अर्ब ९७ करोड ११ लाख रूपैयाँ बराबरको सुन आयात भएको छ । विभागका अनुसार यस अवधिसम्म १ हजार २०१ किलो सुन आयत भएको छ ।  गत आर्थिक वर्ष २०७८–७९ को सोही अवधिमा १० अर्ब ५७ करोड ४० लाख ५७ हजार रूपैयाँ बराबरको १ हजार ४६६ किलो सुन आयात भएको थियो । यसबाट सरकारले एक अर्ब २४ करोड ६६ लाख रुपैयाँ राजश्व प्राप्त गरेको थियो ।
विभागको तथ्याङ्क अनुसार २०८० साउनमा एक अर्ब ६५ करोड रूपैयाँ बराबरको दुई सय किलो सुन आयात भएको थियो । भदौमा दुई अर्ब ४७ करोड रूपैयाँ बराबरको तीन सय किलो सुन आयात भएकोे थियो । असोजमा तीन अर्ब २२ करोड ३९ लाख रूपैयाँ बराबरको चार सय किलो सुन आयात भएको थियो भने कात्तिकमा ८५ करोड ६० लाख रूपैयाँ बराबरको एक सय किलो सुन आयात भएको तथ्याङ्क छ । मङ्सिरमा एक अर्ब ७८ करोड रुपैयाँ बराबरको दुई सय किलो सुन आयात भएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा सरकारले सुन आयातबाट १ अर्ब ४९ करोड ५६ लाख ८८ हजार रूपैयाँ राजस्व संकलन गरेको छ ।
गत असारको तुलनामा भने यस्तो कर्जा केही घटेको छ । २०८० असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले ५५ अर्ब ६१ करोड २३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको केन्द्रिय बैंकको तथ्याङ्क छ । चालु आवको पाँच महीनामा ३ अर्ब ८४ करोड २९ लाख रुपैयाँले सुनचाँदी धितोमा प्रवाह भएको कर्जा घटेको हो ।
बैंक तथा वित्तीय संस्थाले कुल ४९ खर्ब ९५ अर्ब ८८ करोड १ लाख कर्जा प्रवाह भएकोमा सुनचाँदी धितोमा आधारित कर्जाको हिस्सा १.०४ प्रतिशत मात्र रहेको छ । सबैभन्दा धेरै हिस्सा सम्पत्ति धितो (घरजग्गा) मा सर्वाधिक ४४ खर्ब १३ अर्ब ३४ करोड ९३ लाख रहेको छ । यो कुल कर्जाको ८८.३४ प्रतिशत बराबर हो ।
२०८० मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ११.६ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.७ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद