Media Network

सरकारले एडीबीबाट थप २१ अर्ब ऋण लियो


खबरस्टोरी संवाददाता

४ माघ २०८०,बिहीबार

काठमाडौं । सरकारले एसियाली विकास बैंक (एडीबी)बाट थप १६ करोड अमेरिकी डलर (करिब रु २१ अर्ब बराबर) सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर (करिब रु ७० करोड बराबर) अनुदान लिने सम्झौतामा हस्ताक्षर गरेको छ ।
शहरी जीवनयापन सुधार परियोजना (अर्बन रेजिलियन्स एन्ड लाइभाबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट) कार्यान्वयनका लागि आज अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा अर्थसचिव कृष्णहरि पुस्कर र एडीबीका नेपालका लागि देशीय निर्देशक आर्नोड कोस्वाले हस्ताक्षर गरे ।
सो परियोजना पोखरा महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकामा कार्यान्वयन हुनेछ ।
सम्झौतापत्रमा हस्ताक्षर पछि प्रतिक्रिया दिँदै अर्थसचिव पुष्करले यो परियोजना कार्यान्वयन हुने पालिकाको वित्तीय तथा समग्र प्राकृतिक पारिस्थितिक प्रणालीमा सकारात्मक प्रभाव पार्ने बताए । महिला, सीमान्तकृत तथा अर्थ सामाजिक रुपमा पिछडिएका समूहको लागि इन्टर्नसिप, सीप सुधार र स्थानीय कलालाई समर्थन गर्नमा पनि योगदान गर्ने उनको भनाइ छ ।
एडीबीका देशीय निर्देशक कोस्वाले आज सम्झौता भएका परियोजनाले सम्बन्धित पालिकाको पूर्वाधारमा सुधार, पर्यटन सम्पदाको पुनःरुत्थान र सुधारमा सहयोगी हुने अपेक्षा गरिएको बताए । पूर्वाधार निर्माण र आर्थिक क्रियाकलाप सञ्चालनसँगै राजस्व वृद्धि, डिजिटल रूपान्तरण र स्थानीय सरोकारवालाको क्षमता अभिवृद्धिका लागी सहयोग गर्ने उनको भनाइ छ ।
सम्झौता कार्यान्वयन पछि ती पालिकामा प्राकृतिक, सांस्कृतिक र सम्पदा पर्यटन सम्पदाको पुनःरुत्थान गर्न, संस्थागत क्षमतालाई सुदृढ गर्न सहयोग गरेर परिवर्तनकारी प्रभाव पार्ने अपेक्षा गरिएको छ । यस परियोजनाले सम्बन्धित नगरपालिकाको लगानी योजनामा तोकिएका प्राथमिकतासँग मिलाएर पूर्वाधार विकास गर्ने जनाइएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद