Media Network

सार्वजनिक ऋणले २३ खर्ब नाघ्यो , प्रतिव्यक्ति ७९ हजार ऋण


खबरस्टोरी संवाददाता

१० आश्विन २०८०,बुधबार

काठमाडौं । नेपालको सार्वजनिक ऋण २३ खर्ब माथि पुगेको छ । चालु आर्थिक वर्ष (आव)२०८०÷८१ को पहिलो दुई महिनामा सरकारले ४९ अर्ब २३ करोड रुपैयाँ सार्वजनिक ऋण थपेको हो । यस अवधिमा सरकारले ३८ अर्ब ७१ करोड ऋण भने भुक्तानी गरेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार असार मसान्तसम्म नेपालको ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ रहेको थियो । यसमा साउन र भदौ महिनामा सरकारले कुल ४९ अर्ब २३ करो ३२ लाख रुपैयाँ ऋण थपेको छ । सोही अवधिमा ३८ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ ऋण भुक्तानी गरेको छ ।

नेपालको आन्तरिक ऋण ११ खर्ब ४० अर्ब ५३ करोड र बाह्य ऋण ११ खर्ब ६९ करोड ३३ करोड रुपैयाँ रहेको छ । भदौ मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋणको आंकडा २३ खर्ब माथि पुगेको तथ्यांकमा उल्लेख छ ।

भदौ मसान्तसम्मको सार्वजनिक ऋण प्रतिव्यक्ति दायित्वका हिसावले ७९ हजार २०१ रुपैयाँ पर्न जान्छ । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मा भाग गर्दा सो रकम आएको हो ।

सरकारले साउन महिनामा १३ अर्ब ६ करोड र भदौ महिनामा ३१ अर्ब २० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । यस प्रकार दुई महिनाको अवधिमा ४४ अर्ब २६ करोड आन्तरिक ऋण उठाएको छ । बाह्य ऋण भने दुई महिनामा मात्र ४ अर्ब ९७ करोड रुपैयाँ मात्र प्राप्ती भएको छ ।

भुक्तानीतर्फ सरकारले साउनमा २२ अर्ब ७ करोड र भदौमा १० अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋणको साँवा भुक्तानी भएको छ । दुई महिनामा कुल ३२ अर्ब ८३ करोड रुपैयाँ साँवा भुक्तानी भएको छ । बाह्य ऋणको भने साउनमा १ अर्ब २३ करोड र भदौमा ४ अर्ब ६४ करोड रुपैयाँ बाह्य ऋणको साँवा भुक्तानी भएको छ ।

बाह्य ऋणको साँवा भुक्तानी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । ब्याज भुक्तानीमा भने आन्तरिक ऋणतर्फ दुई महिनामा ८ अर्ब ७७ करोड र बाह्य ऋणको ब्याज भुक्तानीमा २ अर्ब २८ करोड रुपैयाँ खर्च भएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद