Media Network

विद्युत् खरिद सहित नेपाली स्याटेलाइट प्रक्षेपणमा सहयोग लगायत नेपाल भारतबीच ४ सम्झौता


खबरस्टोरी संवाददाता

१९ पुष २०८०,बिहीबार

काठमाडौं । बिहीवार बसेको नेपाल(भारतको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा ४ सहमतिमा हस्ताक्षर भएको छ ।नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा नेपाल र भारतबीच ऊर्जा व्यापार सम्झौतासहित ४ सम्झौतामा हस्ताक्षर भएको हो ।

सहमतिअनुसार जाजरकोट भूकम्पमा प्रभावितलाई आर्थिक सहयोग र पुनर्निर्माणका लागि १० अर्ब नेपाली रुपैयाँ भारतले उपलब्ध गराउने भएको छ भने नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारत तयार भएको छ ।

बैठकमा उपस्थित नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका प्रतिनिधि र न्यू स्पेस इन्डिया लिमिटेडका प्रतिनिधिबीच स्याटेलाइट प्रक्षेपणसम्बन्धी सहमतिमा पनि हस्ताक्षर भएको हो ।त्यस्तै नेपालका अर्थसचिव कृष्णहरि पुस्कर र भारतीय राजदूत नविन श्रीवास्तवले हाइ इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट कार्यान्वयन गर्ने सहमतिमा हस्ताक्षर गरेका छन् । यो सहमति अनुसार भारतीय दूतावासले नेपालका परियोजनाहरूमा सिधै २० करोडसम्म खर्च गर्न सक्नेछ ।

आयोगको बैठकका लागि भारतीय विदेशमन्त्री जयशंकर बिहीवार बिहान काठमाडौँ आएका थिए ।बैठकअघि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको शिष्टाचार भेटवार्ता भएको थियो ।

आयोगको बैठकपछि दुवै देशका परराष्ट्रमन्त्रीले १३२ केभीए पावर क्षमताका तीनवटा प्रसारण लाइनको उद्घाटन गरेका थिए भने त्यसपछि जयशंकर पुनस् राजनीतिक भेटतर्फ लागेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद