Media Network

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस किन आउँदैछन् नेपाल ?


खबरस्टोरी संवाददाता

५ बैशाख २०७९,सोमबार

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस नेपाल आउँदैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा उनी ८ वैशाखमा नेपाल आउन लागेका हुन् ।

उनको नेपाल भ्रमणको लागि परराष्ट्र र स्वास्थ्य मन्त्रालयले आवश्यक तयारी थालेको छ । उनको नेपाल भ्रमणका क्रममा कस्ता विषयलाई उठान गर्ने भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरु गहन छलफलमा छन् । 

कोरोना भाइरसको महामारीबाट नेपालले भोग्नुपरेको समस्या, नेपालका जनस्वास्थ्य क्षेत्रका चुनौती लगायतका विषय नेपालले उठान गर्नेछ ।  नेपाल भ्रमणमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यतालिका बनेको छ ।

त्यस्तै स्वास्थ्यमन्त्री विरोध खतिवडा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि भेट गर्ने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बताए ।   

स्वास्थ्यमन्त्री खतिवडाको निमन्त्रणमा नेपाल आउन लागेका विश्व स्वास्थ्य संगठनका प्रमुखको भ्रमणलाई नेपालले महत्वका साथ हेरेको छ ।  नेपालको भ्रमणका क्रममा उनले टाइफोइड रोगविरुद्धको खोप अभियानको पनि अवलोकन गर्नेछन् ।  

यसअघि कोरोना महामारीको समयमा नेपालको दुर्गम भेगमा खोप पुर्‍याउने काममा खटिएका स्वास्थ्यकर्मीको भिडिओलाई ट्वीटरमार्फत सेयर गरेका थिए । सबैको पहुँचमा खोप पुर्‍याउनुपर्ने धारणा उनको थियो । 

कोरोना महामारीको समयमा डब्ल्यूएचओले नेपाललाई कोभ्याक्स र गाभीमार्फत खोपहरू उपलब्ध गराउन सहयोग गरेको थियो । त्यस्तै कोरोना महामारीसँग लड्न विश्व समुदायलाई समेत नेपालमा सहयोग गर्न अनुरोध गरेको थियो ।   


Share:
Reaction :
ताजा समाचार
खेलकुद