Media Network

कोभिड–१९ संक्रमितमुक्त जिल्ला बन्यो खोटाङ


खबरस्टोरी संवाददाता

२८ चैत्र २०७८,सोमबार

खोटाङ।  खोटाङ जिल्लामा कोभिड–१९ संक्रमितको सङख्या  शुन्य भएको छ ।  बाँकी दुई सक्रिय संक्रमितले कोभिड जितेसँगै आइतबारदेखि खोटाङ   संक्रमितमुक्त जिल्ला बनेको हो । 

आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा आइतबार एन्टीजेन परीक्षण गर्दा २५ जनामध्ये कसैलाई पनि संक्रमण पुष्टि नभएको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भीष्म पाण्डेले जानकारी दिए । 

जिल्लामा कोरोना संक्रमणको पहिलो, दोस्रो र तेस्रो लहर गरी ३ हजार ५०२ जनालाई संक्रमण पुष्टि भएको र ३ हजार ४५८ जनाले संक्रमण जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म जिल्लाका १ लाख २१ हजार ४३० जनाले पहिलो मात्रा र १ लाख ७ हजार ४२ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । कोभिड–१९ को पहिलो र दोस्रो लहरमा जिल्लाको १५ जनाले ज्यान गुमाएका थिए । 

जिल्लामा महामारीका उपयोगको लागि जिल्ला अस्पताल सहित ७ अस्पतालमा २३४ बेड उपलब्ध छ । यस्तै, १ थान भेन्टिलेटर, ७ वटा एम्बुलेन्स, २०० थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले संक्रमणबाट बच्नको लागि स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद