Media Network

खोटाङका ५२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने


खबरस्टोरी संवाददाता

२८ चैत्र २०७८,सोमबार

खोटाङ।  खोटाङका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजार बढी बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप दिने तयारी गरिएको छ । आगामी चेत २९ देखि वैशाख ४ सम्म सञ्चालन गरिने अभियान  क्रममा १० स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजार ८४० बालबालिकालाई टाइफाइड रोगविरुद्ध टाइफाइड कन्जुगेट भ्याक्सिन (टिसिभि) खोप दिने तयारी गरिएको छ  ।

टाइफाइड रोगविरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको सुरुवातसम्बन्धी सोमबार आयोजित जिल्ला खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा १५ महिनादेखि २३ महिनासम्मका दुई हजार ९८९ जना, पाँच वर्षदेखि १५ वर्षसम्मका विद्यालयमा रहेका ४३ हजार ५५१ जना, दुई वर्षदेखि चार वर्ष तथा विद्यालय बाहिर रहेका ६ हजार ३०० जना बालबालिकालाई खोप दिने तयारी गरिएको जानकारी दिइएको छ । 

राष्ट्रिय कार्यक्रम अन्तर्गत जिल्लामा खोप अभियान सञ्चालन  टाइफाइड रोगको संक्रमण तथा यसबाट हुने जटिलतालाई न्यूनिकरण गर्ने लक्ष्यका लागि गरिएको हो । टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालनका लागि जिल्लामा ७११ खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिएका  छन्  ।

एक हजार ४४२ स्वयंसेवक तथा ७२७ खोप कार्यकर्ता खोप अभियानको  क्रममा  परिचालित हुने छन् । यस्तै, खोप पश्चात हुनसक्ने अवाञ्छित घटना व्यवस्थापनका लागि १० जनाको टिम तयार पारिएको छ । खोप अभियानका लागि २२ चैतदेखि २७ चैतसम्म भ्याक्सिन तथा खोप ढुवानी गरिने प्रमुख सिग्देलले बताए ।

पर्चा, पम्प्लेट र पोष्टर १९ चैतदेखि ४ वैसाखसम्म  वितरण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।  राजनीतिक दल र स्थानीय तहका जनप्रतिनिधिको महत्वपूर्ण भूमिका  टाइफाइड विरुद्धको खोप अभियान सफल बनाउनका लागि हुने जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए । 

नियमित खोप कार्यक्रममा टाइफाइड विरुद्धको खोप समावेस गरी १५ महिनाको उमेरमा एक मात्रा खोप निरन्तर उपलव्ध गराउने र बालबालिकालाई टाइफाइड विरुद्धको खोप प्रदान गर्ने नेपाल सरकारको तयारी छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद