Media Network

एमसीसीदेखि रुस–युक्रेन युद्ध मामलामा समेत देउवाको ‘अमेरिकी चासो’


खबरस्टोरी संवाददाता

१८ फाल्गुन २०७८,बुधबार

काठमाडौं । यतिबेला अन्तराष्ट्रिय चासोको विषय बनेको छ ,रुस र युक्रेनबीचको युद्ध ।रुसले युक्रेनमाथि हमला गरेपछि विरोधमा बोल्नेमा अमेरिकासहित पश्चिमा देशहरु अग्रपंक्तिमा देखिएका छन् । एशिया क्षेत्रबाट दक्षिण कोरिया, जापान सिंगापुर लगायतका राष्ट्रहरु विरोधमा देखिए भने बाँकी देशहरु तटस्थ या मौन अवस्थामा रहेका छन् ।ब्राजिल, मेक्सिको, अर्जेन्टिना, दक्षिण अफ्रिका जस्ता शक्तिशाली देशहरु पनि तटस्थ नै देखिए । दक्षिण एशियाका दुई शक्तिशाली मुलुकहरु भारत र पाकिस्तान रुसले युक्रेनमाथि हमला गरेकोमा तटस्थ बसे । बङ्गलादेशले युएन चार्टरको सम्मान गर्न भन्दै युक्रेनको सार्वभौमसत्ता र एकताको सम्मान गर्ने भन्यो । उसले रुसको कदमको विरोध भने गरेन । श्रीलंका र अफगानिस्तानले तटस्थ रहेको भन्दै बोले । भुटान र माल्दिभ्स मौन बसे ।

दक्षिण एशियाबाट नेपालले मात्र युक्रेनमाथि रुसको आक्रमणको विरोध गरेर गत १२ फागुनमा विज्ञप्ति जारी गरिसकेको छ ।। विज्ञप्तिमा रुसी कदमको विरोध गर्दै भनिएको छ,‘कुनैपनि परिवेशमा सार्वभौम राष्ट्रविरुद्धको बल प्रयोगको नेपाल विरोध गर्दछ ।’

नेपालको धारणा दक्षिण एशियाका बाँकी देशहरुको भन्दा फरक आयो । अर्थात्, नेपालले मात्र रुसी कदमको खुलेर विरोध गर्यो । यसमा धेरैको चासो बढेको छ । अमेरिका, बेलायतलगायत पश्चिमा देशहरु युक्रेनको पक्षमा खुलेका छन् । उनीहरुले रुसलाई चेतावनी दिइरहेका छन् । युक्रेनको मामलामा नेपाल अमेरिकालगायत पश्चिमा देशहरु एकै ध्रुवमा देखिए ।

भर्खरै मात्र प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग टेलिफोन संवाद पनि भएको छ, जुन कुराकानी रुस र युक्रेनबीचको सन्दर्भमा भएको जनाइएको छ । ब्लिन्केनले ट्वीट गर्दै युक्रेनमाथि रुसी आक्रमणबारे कुराकानी केन्द्रित भएको उल्लेख गरेका छन् । युक्रेनको सार्वभौमसत्ता र भौगोलिक एकतामा आफूहरुको साथ रहेको भनेका छन् । देउवाले यसबाट पनि युक्रेनको पक्षमा आफूलाई उभ्याएको स्पष्ट भएको छ । अहिले विश्व नै युक्रेन मामलामा अमेरिका या रुसको पक्ष या विपक्षमा ध्रुवीकृत भइरहेको छ । अधिकांश देशहरु तटस्थ छन् । यद्यपी देउवा भने अमेरिकी ध्रुवमा समेटिएका छन् । यहि सन्दर्भमा देउवाले हालै मात्र चीनको विरोधका बीच एमसीसी संसदबाट पारित गराउन सफल भएका छन् ।

एमसीसी पारित लगत्तै देउवाले युक्रेन मामलामा सरकारका तर्फबाट बोल्न लगाउने देखि आफै अमेरिकी अधिकारीसँगको कुराकानीमा बोल्न पुगे, छिमेकी मुलुक चीन र भारत तटस्थ बस्दा नेपाललाई युक्रेनको पक्षमा उभ्याए । यसबाट पनि प्रधानमन्त्री देउवा स्पष्ट रुपमा अमेरिकी इन्ट्रेसमा आफुलाई ढालेको पुष्टि हुन्छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद