Media Network

पाकिस्तानले आज नयाँ प्रधानमन्त्री पाउँदै


खबरस्टोरी संवाददाता

२८ चैत्र २०७८,सोमबार

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएपछि आज (सोमबार) नयाँ प्रधानमन्त्री चयन हुने भएको छ । नयाँ प्रधानमन्त्री चयन प्रक्रियाका लागि सोमवार संसद् अधिवेशन बस्दै छ ।

नयाँ प्रधानमन्त्रीका लागि पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ पाकिस्तान मुस्लिम लिग नजाफ (पीएसएम–एन) का अध्यक्ष सहबाज सरिफ र प्रधानमन्त्री खानको तहरिक ए इन्साफ (पीटीआई) का उपाध्यक्ष शाह मोहम्मद कुरैसीले मनोनयन दर्ता गराइसकेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यी दुईमध्ये पूर्वप्रधानमन्त्री सरिफका भाइ सरिफ नै नयाँ प्रधानमन्त्री बन्ने लगभग निश्चित भइसकेको जनाएका छन् । पाकिस्तानी संसद्मा कायम ३ सय ४२ सिटमध्ये सरकार गठन गर्न १ सय ७२ सिट आवश्यक छ । अब बन्ने नयाँ प्रधानमन्त्रीले सन् २०२३ को अक्टोबरसम्म देशको नेतृत्व गर्नेछ ।

पाकिस्तानको संसद्ले शनिबार राति प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेपछि आइतबारदेखि उनी पदमुक्त भएका हुन् । अविश्वासको मतदानमा पक्षमा १ सय ७४ मत परेको थियो । प्रधानमन्त्री खान अविश्वासका प्रस्तावबाट हट्ने पहिलो पाकिस्तानी प्रधानमन्त्री बनेका छन् । 

यसअघि आफूविरुद्धको अविश्वासको प्रस्ताव रोक्न प्रधानमन्त्री खानले संसद् भंग गराएका थिए । तर, सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिदिएपछि शनिबार मध्यरातमा अविश्वासको प्रस्तावमाथि मतदान भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद